सुक्खाग्रस्त मधेशको अनुगमन गर्न सहसचिवको टोली परिचालन

ऊर्जा सहसचिव सुशील आचार्य संयोजक रहेको टोलीले पर्सा र बारामा सरोकारवालासाग समस्याबारे जानकारी लिएको छ

श्रावण ९, २०८२

शंकर आचार्य

Deploying a team of Joint Secretary to monitor drought affected Madhesh

What you should know

पर्सा — खडेरीका कारण सुक्खाग्रस्त मधेश प्रदेशको अवस्था बुझ्न संघीय अनुगमन टोली बिहीबार वीरगन्ज आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशील आचार्य संयोजक रहेको टोलीले पर्सा र बारामा सरोकारवालासँग समस्याबारे जानकारी लिएको हो । खडेरीका कारण संघ सरकारले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

छलफलमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नीरञ्जन सोनारले पर्सामा २२ ओभरहेड ट्यांकी भएकोमा ५ मात्र सञ्चालनमा रहेको बताए । उनले पर्सागढी र पटेर्वासुगोली गाउँपालिकाबाहेक जिल्लाका अन्य १२ पालिकामा खानेपानी र कृषि दुवैको विकराल अवस्था रहेको बताए । गण्डक नहरछेउका आधा दर्जन पालिकामा राम्रो रोपाइँ रहे पनि अन्य पालिकामा उल्लेख्य रोपाइँ हुन नसकेको उनले जानकारी दिए । 

तीन वर्षयता नियमित रूपमा मधेशमा खडेरी र सुख्खाको समस्या देखापरिरहेको जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले बताए । विपद् देखिनुअघि नै पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ । यसका लागि ओभरहेड ट्यांकी निर्माणलाई प्राथमिकता दिनुपर्ने साहले बताए । बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले गण्डक नहरमा वर्षे धान बालीका लागि मात्र नभई चैते धान बालीका लागि पनि भारतसँग पानी लिनुपर्ने सुझाए । यसले नहर आसपासको क्षेत्रमा पानीको सतह रिचार्ज भइराख्ने उनको तर्क थियो । उनले गण्डक नहरको संरचना सुधारमा पनि जोड दिए । 

अनुगमन टोलीका संयोजक सहसचिव आचार्यले अधुरा खानेपानी तथा सिँचाइ आयोजना, ट्युवेलहरू सञ्चालन, गण्डक नहरमा पानी आउने तालिकामा परिवर्तन, चुरे संरक्षण र चुरे क्षेत्रमा ठूला तलाउ निर्माण, विद्युत्को भोल्टेज खराब अवस्थामा सुधार हुनुपर्ने जस्ता सुझाव आएको बताए । प्राप्त सुझाव र सरोकारवाला कार्यालयबाट तथ्यांकसमेत संकलन गरी सात दिनभित्र अनुगमन टोलीले आफ्नो प्रतिवेदन बुझाउने उनले जानकारी दिए । अनुगमन टोलीमा सिँचाइ व्यवस्थापन महाशाखाका उपनिर्देशक वासु तिमल्सेना, कृषि

बिभागका महानिर्देशक प्रकाशकुमार सन्जेल, खानेपानी विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठलगायत सहभागी छन् ।

शंकर

Link copied successfully