विराटनगरको हटिया परम्परा : किसान-उपभोक्ताको सेतु

श्रावण ९, २०८२

पर्वत पोर्तेल

Biratnagar's Hatiya Tradition: Farmer-Consumer Bridge

What you should know

विराटनगर — विराटनगरका सडक छेउ, चोक र खुला मैदानमा दैनिक हटिया लाग्छ । हटिया भनिने सानो ग्रामीण बजार, जसले मधेशको पुरानो सांस्कृतिक परम्परालाई अझै जीवित राखेको छ । यो किनमेल गर्ने थलो मात्रै होइन, किसान र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्ध जोड्ने महत्त्वपूर्ण सेतु पनि हो । 

किसानहरू बिहानैदेखि हटियामा बिक्रीका लागि सामानको बिस्कुन बिछ्याउन थाल्छन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, फलफूल, चामल, गहुँको पिठो, दाल, अन्डा, दूधजस्ता सामग्री उपभोक्तासमक्ष पस्किइन्छ । ‘हटिया परम्परा व्यापारिक मात्रै होइन, यो त सामाजिक र सांस्कृतिक जीवनको अभिन्न अंश पनि हो,’ विराटनगरका पुराना बासिन्दा पारुल क्षेत्री भन्छन्, ‘यसले गाउँ र सहरबीच सोझो सम्पर्क बढाउनुका साथै सिंगो महानगरलाई नै चलायमान बनाइरहेको छ ।’ 

अहिलेको युगमा अधिकांश व्यापारमा बिचौलियाको भूमिका हाबी हुँदै गएको छ । हटियाले त्यो संरचनालाई चुनौती दिँदै किसान र उपभोक्ताबीच सिधा सम्बन्ध जोड्ने काम गरिरहेको छ । 

Biratnagar's Hatiya Tradition: Farmer-Consumer Bridge

यसले गर्दा किसानले आफ्ना उत्पादनको उचित मूल्य पाएका छन् भने उपभोक्ताले ताजा सामान उचित मूल्यमा किन्न पाएका छन् । ‘हटियाले मार्जिन खाने दलाललाई बजारबाट पर धकेलेको छ,’ लामो समयदेखि हटियामा सामान बेच्दै आएका रामकुमार मण्डल भन्छन्, ‘यही कारणले हटिया झन्झन् लोकप्रिय बन्दै गएको हो ।’

विराटनगरको हटिया कृषि वस्तु किनबेच गर्ने थलो मात्र होइन, यो स्थानीय अर्थतन्त्रको इन्जिन पनि हो । यहाँ दैनिक सयौं किसानले आफ्ना उत्पादन बेच्छन्, हजारौं उपभोक्ता खरिदका लागि पुग्छन् । महानगरपालिकाको अनुमानअनुसार हटियामा दैनिक लाखौं रुपैयाँको कारोबार हुन्छ । यद्यपि यसको यकिन तथ्यांक भने छैन । ‘दैनिक सयौं स्थानीयको उपस्थिति र लाखौंको कारोबार हुने अनुमान गरिएको छ,’ विराटनगर महानगरका राजस्व महाशाखा प्रमुख सरोज तिम्सिनाले भने, ‘महानगरले यो वर्षदेखि हटिया अर्थतन्त्रको विस्तृत अध्ययन सुरु गर्ने योजना बनाएको छ ।’

यसले सहरको नगद प्रवाह बढाएको छ भने श्रमिकको रोजगारी चलेको छ । किसानको उत्पादन बिक्री भइरहेको छ । साना व्यापारीको समेत व्यवसाय चलायमान भएको छ । साथै उपभोक्ताले सस्तो, ताजा र अर्गानिक वस्तु खान पाएका छन् । ‘हटिया व्यापारिक केन्द्र मात्रै होइन, सामाजिक अन्तरक्रियाको थलो पनि हो,’ विराटनगरका पुराना बासिन्दा दिनेश श्रेष्ठ भन्छन्, ‘मानिसहरू एकआपसमा कुराकानी गर्छन्, खबर साटासाट गर्छन् र सम्बन्ध बलियो बनाउने प्रयत्न गर्छन् ।’ 

Biratnagar's Hatiya Tradition: Farmer-Consumer Bridge

वृद्धदेखि युवा, महिलादेखि बालबालिकासम्म हटियामा भेटिन्छन् । यही विविधताले हटियालाई अझ जीवन्त बनाउँदै लगेको छ । ३० वर्षदेखि निरन्तर हटिया गर्दै आएकी बुढीगंगा गाउँपालिकाकी मनकुमारी सरदारले भन्छिन्, ‘हटिया त हाम्र्रो जीवन पद्धति हो ।’

हटियाका नकारात्मक पाटा पनि छन् । ट्राफिक व्यवस्थापन र सरसफाइ अस्तव्यस्त छ । प्लास्टिकको प्रयोग र फोहोरमैला व्यवस्थापनमा सुधारको खाँचो छ । महानगरले हटियालाई व्यवस्थित बनाउन विशेष ध्यान दिन जरुरी देखिन्छ । ‘सरसफाइचाहिँ ठेकेदार आफैंले जिम्मा लिएको छ,’ महानगरका सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहालले भने, ‘हटिया सकिनेबित्तिकै सरसफाइ गर्नैपर्ने बाध्यात्मक अवस्थाले फोहोर व्यवस्थापनमा समस्या छैन ।’ 

मधेशको सांस्कृतिक पहिचान बोकेको हटिया प्रणाली अझै पनि किसान र उपभोक्ताबीचको पुल बनेको छ । बिचौलियाविहीन बजार, ताजा सामग्री र उचित मूल्यको कारण हटिया सहरको अर्थतन्त्रलाई चलायमान बनाइरहेको विराटनगरका अर्थर्शास्त्री डा. वेदराज आचार्यले बताए । ‘हटिया किनबेचको सानो इकाइ हो, जहाँ बिचौलयाको उपस्थिति बिल्कुल निषेधित छ ।’ 

विराटनगर महानगरका अनुसार आर्थिक वर्ष २०८०/०८१, ०८१/८२ र ०८२/८३ का लागि हटिया सञ्चालनको बहाल (ठेक्का) मूल्य अभिवृद्धि करबाहेक ४५ लाखमा बिटौरी भइसकेको छ । महानगरका राजस्व महाशाखा प्रमुख सरोज तिम्सिना भन्छन्, ‘हटिया मधेशको परम्परा पनि हो, यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ ।’

Biratnagar's Hatiya Tradition: Farmer-Consumer Bridge

हटिया लाउने चलन मधेशका लागि नयाँ होइन, यो त पुस्तौंदेखि बाँचिरहेको एउटा जीवित परम्परा हो । यही परम्पराले किसान र उपभोक्ताबीचको सम्बन्धलाई यति घनीभूत बनाएको छ कि हटिया लाग्ने दिनकै नाममा विराटनगरका कतिपय ठाउँ चिनिन्छन् । शनिबार हटिया लाग्ने ठाउँलाई शनि हाट र बिहीबार हटिया लाग्ने ठाउँलाई बिहीबारे हाट भन्न थालिएको हो । त्यसैगरी सोमबारे, बुधबारे चोकले पनि हटियाको अस्तित्वलाई जीवित राखिरहेका छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully