रञ्जितालाई रेशमको भिडियो सन्देश – आफूमाथि लागेका आरोपको जवाफ दिनु
What you should know
धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
शुक्रबार नाउपाका केन्द्रीय कमिटीका १२ जना सदस्यहरुले विधानको दफा ४१ को उपदफा ६ अनुसार पार्टी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएको उल्लेख गरेका छन् । नागरिक उन्मुक्तिमा रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष छिन् भने अन्य २० जना केन्द्रीय सदस्य छन् ।
बैठक बोलाउन माग गर्दै अल्टिमेटम दिने निर्णयमा केन्द्रीय सदस्यहरु पुन्नबहादुर बुढा, विपतराम डगौरा, आलोक चौधरी, गंगाराम चौधरी डगौरा, ओसिनकुमारी चौधरी, उर्मिला चौधरी, लालविर चौधरी, लक्ष्यबहादुर चौधरी, बलवीर थारु, विना थारु र रामलाल डगौरा थारुले हस्ताक्षर गरेका छन् ।
पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै उनीहरुले २४ घण्टाभित्र बैठक नबोलाएमा साउन ११ गते आइतबार पार्टी केन्द्रीय समितिको बैठक गरेर आवश्यक निर्णय गर्ने चेतावनी पनि अध्यक्ष श्रेष्ठ चौधरीलाई दिएका छन् ।
लामो समयदेखि आन्तरिक झमेला झेल्दै आएको नाउपा फेरि अर्को बखेडामा छ । अध्यक्ष चौधरीले बैठक नबोलाएको भन्दै यसअघि प्रतिनिधिसभाको संसदीय दलले बैठक आह्वान गरेको थियो ।
संसदीय दलका नेता गंगाराम चौधरीको अध्यक्षतामा साउन ३ गते शनिबारको बैठकले साउन ९ र १० गते पार्टी केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका चार जना सांसद छन् । दलको बैठकमा संसदीय दलका नेता चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र सचेतक अरुण चौधरी उपस्थित थिए । त्यस दिन पनि पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठ चौधरी भने बैठकमा अनुपस्थित थिइन् ।
‘पार्टीको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टीमा उत्पन्न भएको समस्याहरुलाई निराकरणको लागि ब्यापक छलफल गर्नु पर्ने आवश्यक भएकोले साउन ९ र १० गतेका दिन सनराइज क्याफे मिड बानेश्वरमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरियो,’ संसदीय दलको बैठकको निर्णयमा भनिएको थियो । सोही निर्णयका आधारमा महासचिवको हैसियत उल्लेख गर्दै दलका नेता चौधरीले नै सबै संस्थापक केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुन पत्राचारसमेत गरेका थिए । तर अध्यक्ष श्रेष्ठ चौधरीले भने बैठक आह्वान गर्ने अधिकार अध्यक्षमा मात्र निहीत रहेको भन्दै संसदीय दलको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउन नसक्ने बताएकी थिइन् । त्यही मान्यताअनुसार शुक्रबारको बैठकमा पनि अध्यक्ष श्रेष्ठ चौधरी अनुपस्थित भएकी हुन् ।
यसैबीच बिहीबार पार्टीका संरक्षक रहेका रेशम चौधरीले भिडियो सन्देशमार्फत पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका थिए । पार्टी अध्यक्ष रहेकी आफ्नै श्रीमती रञ्जितालाई रेशमले भिडियो सन्देशमा भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’
नागरिक उन्मुक्तिभित्र लामो समयदेखि संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठ चौधरीबीच शक्ति संघर्ष छ । त्यसैमा यतिबेला पार्टी अध्यक्ष श्रेष्ठ चौधरी आर्थिक अनियमितामा मुछिएकी छिन् । नागरिक उन्मुक्तिबाट सुदूरपश्चिमका मन्त्री भएकाहरु विवादमा मुछिएर सरकारबाट हटाइएका छन् । सुरुमा लक्ष्मणकिशोर चौधरी आर्थिक लेनदेनको अडियो प्रकरणमा मुछिएर सरकारबाट हटाइएका थिए भने हालै रामेश्वर चौधरीलाई आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै मुख्यमन्त्रीले बर्खास्त गरेका छन् ।
संघ र प्रदेश सरकारलाई समर्थन गरिरहेको नाउपाले संघ र प्रदेश सरकारबाट विश्वासको मत फिर्ता लिएर प्रतिपक्षी बेञ्चमै गइसकेको छ । नाउपाका अर्का नेता ठाकुरसिंह थारुले पार्टी नै तहसनहस हुने अवस्थामा अध्यक्षले मनमर्जी गरिरहेको बताए । थारुले भने, ‘पार्टी केवल अध्यक्षको मात्र त होइनन् नि ! यो सँग त लाखौं जनता र मतदाताको सवाल हो नि !’
नाउपाका नेता कार्यकर्ताहरुकै अनुसार पछिल्लो परिस्थिति पनि रेशम–रञ्जिता दम्पतीकै शक्ति संघषैकै परिणाम हो ।
