आज देश दुनियाँमा के के भयो ?

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश, बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, डेढ दर्जन घाइते, सुक्खा मधेश : बजेट रकमान्तरण गरी सिँचाइ गरिने कृषिमन्त्रीको दाबी, गर्मी बढेपछि प्रतापपुर गाउँपालिकामा ३ दिन विद्यालय बन्ददेखि थाइल्यान्ड र कम्बोडियाबीच सैन्य झडप : कम्तीमा १२ जनाको मृत्युसम्मका खबर आज चर्चामा रहे । 

०००

सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो ।

०००

बाजुराको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । 

०००

बढी धान फल्ने मधेशमा साउन पहिलो साता लाग्दा रोपाइँ आधा मात्रै भएको छ । मधेशतिर मनसुन सक्रिय नहुँदा पानीको अभाव छ । अभाव भएपछि मधेश प्रदेशलाई सुक्खाग्रस्त घोषण गरिएको छ । धानको राजधानी मानिने मधेशमै रोपाइँ कम भएपछि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट रकमान्तरण गरेर भए पनि सिँचाइको व्यवस्था गरेर रोपाइँको व्यवस्था मिलाउने दाबी गरेको छ ।

०००

गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालय बिदा गरेको छ ।  चर्को घाम र तातो हावा चलेका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज सूचना जारी गर्दै साउन ९ , १० र ११ गते सम्म पालिका भित्रका सबै शैक्षिक संस्थामा बिदा दिन निर्देशन दिएका छन् । 

०००

दक्षिण पूर्वी एसियाली देशहरू थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । थाई समाचार पोर्टल थाई एन्क्वायररले कम्बोडियाले आवासीय क्षेत्रमा रकेट प्रहार गरेको जनाएको छ । बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच झडप सुरु भएको हो । 

कान्तिपुर

Link copied successfully