थाइल्यान्ड र कम्बोडियाबीच सैन्य झडप : कम्तीमा १२ जनाको मृत्यु

थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि सीमा विवाद रहेको छ

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Military clashes between Thailand and Cambodia: At least 12 dead

What you should know

काठमाडौँ — दक्षिण पूर्वी एसियाली देशहरू थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । थाई समाचार पोर्टल थाई एन्क्वायररले कम्बोडियाले आवासीय क्षेत्रमा रकेट प्रहार गरेको जनाएको छ । 

बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच झडप सुरु भएको हो । कम्बोडियाले भने अहिलेसम्म के कति क्षति भयो जानकारी दिएको छैन । झडपसँगै थाइल्यान्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ ।

त्यस्तै कम्बोडियाले पनि थाई सेनाले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । दुवै मुलुकले सीमा क्षेत्रका नागरिकलाई सुरक्षित स्थलमा सर्न आग्रह गरिसकेको छ । थाइल्यान्डले करिब ४० हजार नागरिकलाई सुरक्षित स्थानमा सार्दै छ । सीमा क्षेत्रमा पर्ने सुरिन, सिसाकेत र बुरिराम प्रान्तका झन्डै ६ सय विद्यालय बन्द गरिएको थाई एनक्वायररले जनाएको छ । 

थाई अधिकारीहरूका अनुसार ८ वर्षीय बालकसहित ११ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको छ । थाइल्यान्डको राष्ट्रिय सुरक्षा परिषद्(एनएससी) ले बिहीबार कम्बोडियाको सेनाले ड्रोन हमला पनि गरेको दाबी गरेको छ । कम्बोडियाले बीएम-२१ रकेटसमेत प्रहार गरेको थाइल्यान्डको आरोप छ । कम्बोडियाले भने थाई सेनाले नै संघर्ष सुरु गरेको आरोप लगाएको छ । 

किन लड्दैछन् थाइल्यान्ड र कम्बोडिया ?

कम्बोडिया र थाइल्यान्डबीच झन्डै सय वर्षदेखि सीमा विवाद थाती रहेको छ । कम्बोडिया सन् १९५३ मा फ्रान्सबाट स्वतन्त्र भएको थियो । त्यतिबेलै दुई देशबीचको सीमारेखा कोरिएको थियो । सन् २००८ मा कम्बोडियाले ११औं शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा दर्ताको प्रयास गरेपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको हो । त्यसयता दुई देशबीच बेलाबेला झडप हुने गरेको छ ।

गत मे महिनामा कम्बोडियाका एक सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध झन् चिसिएको हो । पछिल्ला दुई महिनामा दुवै देशले एक अर्कामाथि प्रतिबन्ध लगाउँदै आए । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचयाचायले कम्बोडियासँगको विवादलाई ‘संवेदनशील’ बताउँदै यसलाई सावधानीपूर्वक र अन्तर्राष्ट्रिय कानुनअनुसार समाधान गर्नुपर्ने बताएका छन् ।

त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले आफ्नो देश विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न चाहेको बताएका छन् । तर साथसाथै उनको चेतावनीसमेत छ, 'हामीसँग सशस्त्र आक्रमणविरुद्ध सशस्त्र प्रतिकार गर्नुबाहेक विकल्प छैन ।'

थाई समाचार पोर्टल द नेसनका अनुसार थाई सेनाले कम्बोडियाविरुद्ध 'युत्थ बोडिन' अपरेसन सुरु गरेको छ । जसको अर्थ 'भूमिको रक्षाका लागि गरिएको चरम युद्ध' भन्ने हुन्छ । 'युत्थ' को अर्थ 'युद्ध' हुन्छ भने 'बोडिन' को अर्थ पवित्र वा शाही भूमि हुने द नेसनले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully