What you should know
काठमाडौँ — भारतबाट हराएका भनिएका दुई किशोरी भक्तपुरमा मृत भेटिएका छन् । आफूले डेरा लिएर बस्दै आएको घरमा नै उनीहरू मृत भेटिएका हुन् । मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा रहेको स्थानीय निरज चक्रधरको दुईतले घरको छेउको भुईंतलामा रहेको छाप्रोमा उनीहरू डेरा गरी बसेका थिए ।
सुर्खेत पञ्चपुरी नगरपालिका-८ का दिदीबहिनी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । काकाको विवाहका लागि बुवाआमासहित सिर्जना नेपाल आएका थिए । नातामा काका पर्ने खगेन्द्र सिग्देलका अनुसार मेनुकाले गत वर्ष सुर्खेतबाटै एसईई दिएकी थिइन् । सिर्जना भने सानैदेखि बुवाआमासहित भारतको मुम्बईमा बस्दै आएकी थिइन् । काकाको विवाहपछि मेनुका पनि परिवारसहित मुम्बई गइन् ।
असार १३ गते एसईईको नतिजा प्रकाशित भएको थियो । सोही दिन बहिनी सिर्जनासहित मेनुका सम्पर्कविहीन भएको आफन्तले जनाएका छन् । मेनुकालाई एसईईमा दुई विषयमा 'ननग्रेड' नतिजा आएको खगेन्द्रले बताए । बुबाआमाले छोरीहरूको खोजीका लागि भारतमा हारगुहार गरिरहेका बेला भक्तपुरमा मृत भेटिएका हुन् । नेपाल आएको आशंका गर्दै सुर्खेत प्रहरीमा जानकारी गराए पनि खोजीका लागि चासो नदेखाएको परिवारको आरोप छ ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दीपककुमार थापाले मेनुका/सिर्जनाका बुवाआमा रोजगारीका लागि ५/६ वर्ष अघिदेखि नै भारतमा रहेको बताए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले परिवारका सदस्य आएपछि मात्र घटनास्थलको मुचुल्का उठाइने बताए ।
‘परिवारले 'हामी नआएसम्म केही नगर्नू' भनेकाले हामी मृतक भएको स्थानको सुरक्षा मात्र गरेका छौं,’ बुढाथोकीले भने,‘ मुचुल्का उठाएपछि अनुसन्धानको काम अघि बढ्नेछ ।’ मृतकका आमाबुबा भारतबाट नेपाल आउने क्रममा रहेको प्रहरी उपरीक्षक बुढाथोकीले कान्तिपुरलाई जानकारी दिए । मृतक दिदीबहिनीले इन्स्टाग्राम र टिकटकमा बुधबार राति केही सामग्रीसमेत पोस्ट गरेका छन् ।
