‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Parliament boycott by RSVP and RPP demanding an inquiry committee into the 'visit visa' case

काठमाडौँ — ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्नासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिएका थिए।

‘भिजिट भिसा’ प्रकरणमा दुई महिनादेखि विरोध जनाइँदै आएको उल्लेख गर्दै सांसद कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने बताइन्। दुई प्रतिपक्षी दलले निरन्तर विरोध गर्दा पनि संसद् चलिरहनु अनौठो अभ्यास भएको भन्दै उनले आपत्ति जनाइन्।

भैँसेपाटीमा सडक विस्तार गर्न लाग्दा सशस्त्र प्रहरीले रोकेको भन्दै सांसद कार्कीले स्थानीयको जग्गा अधिग्रहण गरेर निर्माण गरिएको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग गरिन्। मन्त्रीले घुस माग गरेको अडियो टेप प्रकरणको सही छानबिन नभएको भन्दै उनले असन्तुष्टि जनाइन्।

राप्रपाका सांसद दीपकबहादुर सिंहले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसद्मा विरोध जारी रहने बताए। सरकारले सहिद गङ्गालाल अस्पताललाई सहुलियत वापतको ७० करोड रुपैयाँ नदिएकाले बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम उपलब्ध गराउन माग गरे।

‘भिजिट भिसा’ प्रकरणको विरोधमा संसद्मा उत्रिएका रास्वपा र राप्रपाबीच छानबिन समिति गठनबारे मतैक्यता छैन। रास्वपाले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully