सभामुख घिमिरेलाई बाँसको कुर्सी र टेबल उपहार

श्रावण ८, २०८२

डम्बरसिं राई

Gift of bamboo chair and table to Speaker Ghimire

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सभामुख देवराज घिमिरेलाई बाँसबाट बनेको कुर्सी र टेबल उपहार दिएका छन् । बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै बुधबार सभामुखकै कार्यालय पुगेर बाँसको कुर्सी र टेबल उपहार दिएका हुन् ।

बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नमुना बनाई स्थानीय सामग्री प्रयोग गर्ने नीति निर्माण गरी कार्यान्वयन गर्न सभामुख घिमिरेलाई उपहार दिएको भट्टराईले बताएका छन् ।

बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै स्थानीय जनशक्तिबाट निर्माण गरिएको बाँसको कुर्सी र टेबल उपहार हस्तान्तरण गरिएको भट्टराईले सुनाएका छन् ।

Gift of bamboo chair and table to Speaker Ghimire‘बाँसलाई उत्पादन र रोजगारीसँग जोड्न स्थानीय हस्तकला तथा सीपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउँदै आयआर्जन वृद्धि गरी रोजगारी सिर्जना गर्ने अभियानलाई सफल पार्न सभामुख घिमिरेसमक्ष माग गरिएको हो,’ भट्टराईले भने, ‘बाँसले भूक्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायु प्रदूषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्यधिक कार्बन सञ्चय गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully