बाढीले केरुङमा अलपत्र २०३ नेपाली तातोपानी हुँदै स्वदेश फिर्ता

श्रावण ८, २०८२

ऋषिराम पौडेल

203 Nepalis stranded in Kerung due to flood return home through Tatopani

What you should know

काठमाडौँ — भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुलसमेत बगाएपछि चीनतर्फ नै अलपत्र परेका २ सय ३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ । चीनको विदेश विभागले उनीहरूलाई केरुङ हुँदै तातोपानी मितेरी पुलमा ल्याएर सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो । 

रोजगारीका सिलसिलामा गएकाहरू तथा सवारी चालकलगायत अलपत्र नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले २० वटा गाडीमा केरुङबाट तातोपानी नाकासम्म ल्याइदिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल बताउँछन् । उनीहरूलाई खाने र काठमाडौंसम्म पुर्‍याउने जिम्मा बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र अरनिको यातायातले मिलेर लिएका छन् ।

२४ असारमा भोटेकोशीमा आएको बाढीपछि चीनतर्फ अलपत्र ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई नेपालतर्फ जिम्मा लगाउनुअघिसम्म खानेबस्नेलगायतका सुविधा चीनले नै दिएको प्रजिअ पौडेलको भनाइ छ । बाढीका दिन उनीहरूमध्ये कतिपय चालकले कन्टेनरको छतमा चढेर ज्यान बचाएका थिए । 

गृहमन्त्री रमेश लेखकले केरुङमा अलपत्र परेकालाई नेपाल ल्याउनका लागि समन्वय गर्न तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई निर्देशन दिएका थिए । ल्हासास्थित वाणिज्यदूत लक्ष्मी निरौलाले चिनियाँ अधिकारीसँग समन्वय गर्दै आएका थिए । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई तातोपानी नाकासम्म ल्याउने सहमति भएको थियो । सहमतिअनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिले नेतृत्व गरेर उनीहरूलाई तातोपानी ल्याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

केरुङबाट रसुवा नाका भएर नेपाल आउन मितेरी पुल पूर्ण रूपमा बगाएको छ भने नेपालतर्फ यातायात सञ्चालनमा समेत कठिनाइ छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमाल सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिले आफ्ना कर्मचारी र मजदुर केरुङमा अलपत्र परेकाले उद्धारका लागि सरकारलाई अनुरोध गरेपछि गृहमन्त्री लेखकले पहल गरेका थिए ।

ऋषिराम

Link copied successfully