केरुङमा रोकिएका २०३ जना नेपालीलाई चीन सरकारले आज तातोपानी ल्याउँदै

श्रावण ७, २०८२

ऋषिराम पौड्याल

The Chinese government is bringing hot water to 203 Nepalis who were stopped in Kerung today

What you should know

काठमाडौँ — भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएर अलपत्र परेका २०३ जना नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल ल्याउने तयारी गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार रोजगारीका सिलसिलामा गएकाहरु, चालकलगायतका नेपालीलाई बाढीपछि केरुङमा सुरक्षित राखिएको थियो । उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा आजै बिहान केरुङबाट तातोपानी नाकातर्फ ल्याइँदै गरेको जानकारी पौडेलले दिए । 

गत २४ को भोटेकोशीको बाढीका दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बतर्फ रहेको ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरुलाई अहिलेसम्म खानेबस्नेलगायतका सुविधा दिएर राखेको जानकारी रसुवाका प्रजिअ पौडेलले दिए । 

उनीहरुलाई पनि तातोपानी नाकाबाट ल्याउन लागिएको छ । बाढीका दिन उनीहरुमध्ये कतिपय चालक कन्टेनरको छतमा चढेर ज्यान बचाएका थिए ।   

गृहमन्त्री रमेश लेखकले केरुङमा अड्कीएर आउन चाहनेलाई नेपाल ल्याउन तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई समन्वय गर्न निर्देशन दिएका थिए ।

गृह निरन्तर प्रयासपछि ल्हासास्थित वाणिज्यदूत लक्ष्मी निरौलाले केही दिनदेखि चिनियाँ अधिकारीहरुसँग समन्वय गरिरहेका थिए । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई तातोपानी नाकासम्म ल्याउने सहमति भएको थियो । सहमति अनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिले नेतृत्व गरेर उनीहरुलाई तातोपानी ल्याउन लागेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

तिब्बतको न्यालम प्रशासनले ल्याएका नेपालीलाई नेपाल सरकारका प्रतिनिधिका रुपमा सिन्धुपाल्चोकका प्रजिअ थापासहितको स्थानीय प्रशासनको टोलीलाई जिम्मा दिने कार्यक्रम रहेको छ । ‘हामी उताबाट आउने नेपालीहरुलाई जिम्मा लिन तातोपानी पुगेका छौं,’ प्रजिअ थापाले भने । 

नेपालीहरुको टोली मध्यान्ह तातोपानीस्थि मितेरी पुल आइपुग्ने तयारी रहेको छ । उनीहरुलाई केरुङलगायतका विभिन्न स्थानबाट ल्याइएको हो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले उनीहरुलाई निःशुल्क नेपाल ल्याउन लागेको हो । 

केरुङबाट रसुवा नाका भएर नेपाल आउन मितेरी पुल पूर्ण रुपमा बगाएको छ भने नेपालतर्फ यातायात सञ्चालनमासमेत कठिनाइ रहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमाल सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिले आफ्ना कर्मचारी र मजदुर केरुङमा अड्कीएकोमा उद्धारका लागि सरकारलाई अनुरोध गर्दै आएको थियो । 

उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले केरुङस्थित व्यापारिक फर्मका कर्मचारी, कन्टेनर मजदुर तथा सहयोगीहरुले आफूहरुलाई नेपाल ल्याउन अनुरोध गरेको बताए । तातोपानी आउने नेपालीलाई काठमाडौं पुर्‍याउने र तत्काल खानाको व्यवस्था भोटेकोशी गाउँपालिकाले गर्ने जानकारी प्रजिअ थापाले दिए ।

ऋषिराम पौड्याल

Link copied successfully