कास्की — एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पोखरा बाटुलेचौरस्थित लिची बगानको १ सय ३४ रोपनी जग्गाको घुस लेनदेनमा जोडिएका एमालेसँग सम्बन्धित कसैको पनि संरक्षण नहुने बताएका छन् ।
एमाले कास्कीले बुधबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले कसैको संरक्षण नहुने बताए । `उहाँमाथि (तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) अख्तियारले छानबिन गर्ला,´ उनले भने, `निर्दोष हुनुहुँदोरहेछ भने उन्मुक्ति पाउनुहुन्छ । दोषी भए एमाले भएकै कारण कसैलाई पनि संरक्षण हुँदैन ।´
व्यक्तिगत कारोबारको जिम्मा भने एमालेले लिन नसक्ने उनले बताए । `व्यक्तिगत कारोबारको जिम्मा तपाईं आफैं हुनुपर्छ । एमाले भनेको गल्ती ढाकछोप गर्ने खास्टो होइन,´ उनले नेता-कार्यकर्तालाई भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मागेकै कारण तत्कालीन प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएको उनले जिकिर गरे । `पोखराको जग्गाबारे विवाद आयो । खाली पेपर अगाडि सारेर प्रधानमन्त्रीले मन्त्रीजी के लेख्ने भनेर दिनुभयो । उहाँले राजनीामा दिनुभयो,´ उनले भने ।
लिची बगानको घूस प्रकरणमा संलग्न मन्त्री गुप्ता, बिचौलिया सुजन लामा पनि एमालेकै हुन् । लामा हाल एमाले प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य हुन् । उनले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । उनले स्पष्टीकरण पनि बुझाइसकेका छन् । तर, प्रदेश कमिटीले कुनै निर्णय गरिसकेको छैन ।
