What you should know
काठमाडौँ — सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सांसदबाट निलम्बनमा परेका मोहन बस्नेतलाई प्रमुख अतिथि बनाएको भन्दै सांसद माधव सापकोटाले आपत्ति जनाएका छन् ।
गृहमन्त्रीले उक्त विषयमा संसद्मा जानकारी दिनुपर्ने पनि सांसद सापकोटाले माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सापकोटाले टेरामक्स प्रणालीको भ्रष्टाचारमा निलम्बनमा परेका मोहन बस्नेतलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले प्रमुख अतिथि बनाएको बताएका हुन् । 'टेरामक्स प्रकरणमा अदालतमा मुद्दा परेर कानुनी रूपमा पदसमेत निलम्बनमा परेका व्यक्तिलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रम आयोजना गरेर प्रमुख अतिथिका रूपमा आमन्त्रण गरियो र सानका साथ रातो कार्पेट र ठूल्ठला माला लगाएर सानका साथ फोटो खिचेर जिल्ला प्रशासन कार्यालयको सामाजिक सञ्जाल अकाउन्टबाट अपलोड गरिन्छ,' सापकोटाले आपत्ति जनाए ।
भ्रष्टाचार मुद्दा लागेर सांसद पदसमेत निलम्बन गरिएको भन्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले संसद्को पनि अवमूल्यन गरेको बताए । 'यही संसद्ले सार्वजनिक पद निलम्बन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र मुद्दासमेत चलेका व्यक्तिलाई प्रमुख अतिथिका रूपमा राख्नु भनेको संसद्को समेत अवमूल्यन हो,' उनले भने, 'यस विषयमा गृह मन्त्रालयको आधिकारिक धारणा के हो ?'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्ला प्रतिनिधि प्रमुख जिल्ला अधिकारी नै हुने बताउँदै सापकोटाले बस्नेतलाई प्रमुख अतिथि बनाएको विषयमा अख्तियारको पनि ध्यानाकर्षण हुनुपर्ने बताए । राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारले पनि यस विषयमा हेर्नुपर्ने उनले माग गरे ।
मन्त्रीहरूले घूस मागेका अडियो सार्वजनिक भई परीक्षणबाट पुष्टि हुँदासमेत राजीनामा नआउनु र छानबिन तथा कारबाही नहुनु बेथितिको पराकाष्ठा भएको सापकोटाले बताए ।
