कास्की — एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन नहुने विचार व्यक्त गरेका छन् । ४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले कास्कीले बुधबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले पार्टी राजनीति गर्ने इच्छा भएपनि राष्ट्रपति भइसकेको व्यक्ति सम्मानित भएरै बस्नुपर्ने बताएका हुन् ।
‘आफूलाई इच्छा होला तर गणतन्त्रको सिम्बोलिक भइसकेको ठाउँमा पूर्वराष्ट्रपति ज्यू अहिले पनि सम्मानित हुनुपर्छ । हामीलाई अभिभावकत्व दिइरहनुपर्छ,’ उनले भने । सदस्यता नवीकरण प्राविधिक विषय भएको र राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनु संविधान र गणतन्त्रसँग जोडिने उनको भनाइ थियो ।
यही विषयमा पार्टी केन्द्रीय कमिटीमा छलफल हुँदा २/३ जनाबाहेक अरू पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नहुने पक्षमा रहेको उनले जिकिर गरे । ‘सदस्यता नवीकरण हुने–नहुने प्राविधिक कुरा हो,’ नेता अधिकारीले भने, ‘मुख्य राजनीतिक कुरा के हो, संविधानले के प्रभाव पार्छ, संविधानले के भन्छ, गणतन्त्रको सिम्बोलिक भएको कुरा के गर्छ भन्ने व्यापक छलफल भयो (केन्द्रीय कमिटीमा) । बोल्ने २/३ जनाबाहेक सबैले पूर्वराष्ट्रपतिकै हैसियतमा रहिदिनुपर्छ भन्यौं ।’
पूर्वराष्ट्रपतिलाई अपमान नगर्न, होच्याउने काम नगर्न पार्टी अध्यक्ष केपी ओलीले रुलिङ गरेको उनले बताए । पार्टीमा ओलीको विकल्प खोज्ने समय आइनसकेको उनको भनाइ थियो । साथै नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनलाई सही ढंगले अगाडि लैजान एमालेमा ओलीको नेतृत्व आवश्यक रहेको उनले दाबी गरे ।
