निर्यातमा नयाँ रेकर्ड, आधा हिस्सा खाने तेलको

गत आर्थिक वर्षमा भटमास र सूर्यमुखीको तेल निर्यातबाट एक खर्ब १९ अर्ब भित्रिएको छ, तर यही अवधिमा भटमास र सूर्यमुखीकै तेलको कच्चा पदार्थ आयातमा १ खर्ब ३८ अर्ब रुपैयाा बाहिरिएको छ । आयात गरी सामान्य प्रशोधनपछि निर्यात गरिएको आाकडामा रमाउने कि समीक्षा गर्ने, गम्भीर प्रश्न ।

श्रावण ७, २०८२

राजु चौधरी

A new record in exports, half of edible oil

What you should know

काठमाडौँ — भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढ्दा मुलुकको समग्र निर्यात व्यापारमा नयाँ रेकर्ड बनेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा अहिलेसम्मकै बढी २ खर्ब ७७ अर्ब ३ करोडको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो ।

आर्थिक वर्ष ०८०/८१ मा समग्र निर्यात भने १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको थियो । विभागका अनुसार ०७७/७८ मा निर्यात व्यापार १ खर्ब ४१ अर्ब नाघेको थियो । त्यसअघि ०७८/७९ मा २ खर्ब ३ करोड र ०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात गरिएको थियो ।

एक वर्षमै निर्यात झन्डै दोब्बर हुनुको मुख्य कारण खाने तेलको निर्यात देखिन्छ । आर्थिक वर्ष ०८१/८२ मा भटमास, सूर्यमुखी र पाम तेल १ खर्ब २१ अर्ब ५२ करोड बराबरको निर्यात भएको छ । त्यही वर्ष १ खर्ब ४४ अर्ब ७८ करोडको भटमास, सूर्यमुखी, पामको कच्चा पदार्थ आयात भएको तथ्यांक छ । कच्चा पदार्थको आयात पनि अघिल्लो वर्षको तुलनामा अस्वाभाविक रूपमा तेब्बर भएको तथ्यांक छ । ०८०/८१ मा भने ४१ अर्ब ९३ करोडको कच्चा तेल आयात भएको थियो ।

आर्थिक वर्ष ०८१/८२ मा भटमासको तेल मात्रै १ खर्ब ६ अर्ब ९९ करोडको निर्यात छ । जबकि, अघिल्लो वर्ष ९० करोडको मात्र भटमासको तेल निर्यात भएको थियो । नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमै भटमासको तेल पर्छ । तेस्रो नम्बरमा रहेको सूर्यमुखीको प्रशोधित तेल गत आर्थिक वर्षमा १२ अर्ब ३२ करोडको निर्यात भएको छ । आर्थिक वर्ष ०८०/८१ मा भने १६ करोडको सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।

भटमासको तेल (कच्चा) को आयात भने आव ०८१/८२ मा १ खर्ब ८ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब ५१ करोडको मात्र भटमासको तेलको कच्चा पदार्थ भित्र्याइएको थियो । सूर्यमुखी तेल (कच्चा) को आयात आव ०८०/८१ मा १७ अर्ब ८३ करोड रहेकामा ०८१/८२ मा बढेर २९ अर्ब २ करोड पुगेको छ । 

‘कुल निर्यातमा खाने तेलको हिस्सा करिब ४४ प्रतिशत छ । निर्यातमा छुट र उद्योगीलाई अग्रिम भुक्तानी सुविधाले तेलको निर्यात धेरै भएको देखिन्छ,’ वाणिज्य विज्ञ रवि सैंजुले भने, ‘तर स्वदेशी उत्पादनका कारण निर्यात बढेको होइन । तेस्रो मुलुकबाट भित्र्याएर यहाँ भ्यालु एड (मूल्य अभिवृद्धि) मात्रै गरी निर्यात गरिन्छ । यसले दीर्घकालीन फाइदा गर्दैन ।’ तेस्रो मुलुकबाट आयात गरेर पुनः भारत निर्यात गरिने भएकाले गर्व मान्न जरुरी नरहेको पनि उनले उल्लेख गरे । 

सैंजुका अनुसार आयात भएको कुल वस्तुमध्ये खाने तेलको कच्चा पदार्थ ८ प्रतिशत छ । ‘नेपाल र भारतको सन्धिअनुसार ३० प्रतिशत भ्यालु एड गर्नुपरे पनि साफ्टा (दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र) अन्तर्गत २०/२५ प्रतिशत मात्रै हुन्छ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भारतले गत भदौमा थप २० प्रतिशत बिन्दुले बढाएको छ । त्यसपछि भारतले कच्चा तेल आयात गर्दा साढे २७ प्रतिशत कर लाग्छ,’ उनले भने ।

सैंजुका अनुसार साफ्टाअन्तर्गत नेपालले कृषिजन्य वस्तु निर्यात गर्दा कृषि विकास शुल्क (करिब ५ प्रतिशत) मात्रै तिरे पुग्छ, भारतले अन्य मुलुकबाट आयात गर्दा भने भन्सार र कृषि विकास शुल्कसमेत गरेर ३५.७५ प्रतिशत तिर्नुपर्छ । नेपाल–भारत व्यापार सन्धिमा ‘भ्यालु एड’ ३० प्रतिशत भए पुग्ने व्यवस्था छ, अन्य मुलुकका लागि भने ४० प्रतिशतसम्म ‘भ्यालु एड’ गर्नॅपर्छ । मुलुकलाई लाभ हुने गरी निर्यात बढाउन स्वदेशी उत्पादनमै जोड दिनुपर्ने सैंजुले बताए ।

A new record in exports, half of edible oil

कृषि मन्त्रालयका अनुसार सूर्यमुखी, तोरी, भटमासको तेल मुलुकमा वार्षिक साढे ३ देखि ४ लाख टन खपत हुन्छ । मुलुकभित्र भटमास, तेलहन (तोरी, आलस, सूर्यमुखी) सहित वार्षिक ३ लाख ८ हजार टन (कच्चा पदार्थ) मात्र उत्पादन हुन्छ । अपुग कच्चा पदार्थ उद्योगीले आयात गर्छन् । ‘स्वदेशमा पर्याप्त उत्पादन नहुँदा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ । आयातित कच्चा पदार्थ प्रशोधन गरेर निर्यात पनि हुन्छ,’ नेपाल वनस्पति घिउ/तेल उद्योग संघका अध्यक्ष विकास दुगडले भने, ‘तुलनात्मक रूपमा भारतमा बजार राम्रो पनि छ ।’

नेपालमा कच्चा तेल अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया र थाइल्याडबाट आयात हुन्छ । व्यवसायीका अनुसार भारतमा बिक्री गर्दा उधारो कारोबार हुँदैन । त्यही कारण पनि निर्यातमै जोड दिने गरिएको छ । आयात गरिएको कच्चा पदार्थ निर्यात गर्दा करिब १ सय दिनको चक्र हुन्छ ।

विभागका अनुसार नेपालबाट दोस्रो बढी निर्यात हुने वस्तुमा सेन्थेटिक यार्न पर्छ । यसको निर्यात पनि बढेर गत आवमा १४ अर्ब ३६ करोड पुगेको छ । २०८०/८१ मा ११ अर्ब ७७ करोडको सेन्थेटिक यार्न निर्यात भएको थियो । गएको आवमा १० अर्ब ७७ करोडको ऊनी गलैंचा कार्पेट, ९ अर्ब ५९ करोडको फलामे पाता, ८ अर्ब १७ करोडको तयारी कपडा, ७ अर्ब ७१ करोडको फलफूलको जुस निर्यात भएको छ । त्यस्तै, ७ अर्ब ६८ करोडको अलैंची, ७ अर्ब ९ करोडको प्लाइउड, ६ अर्ब ३० करोडको जुटका बुनिएका कपडा निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने वस्तुमध्ये भारतमा मात्रै करिब ८२ प्रतिशत जान्छ । तर भारतको बजार विश्लेषण गर्न सकिएको छैन । परम्परागत वस्तु मात्रै उत्पादन र निर्यात हुँदा नेपाली वस्तुले राम्रो बजार पाउन सकेका छैनन् । ‘विश्व बजारको करिब १० प्रतिशत हिस्सा भारत हो । भारतीय उपभोक्ताले कस्तो सामान उपभोग गर्न खोजेका छन्, त्यसको अध्ययन नै भएको छैन,’ सैंजुले भने, ‘चिया, अलैंचीमै हामीले ब्रान्डिङ गर्न सकेनौं ।’ विभागका अनुसार गएको आर्थिक वर्षमा आयात व्यापार १३.२५ प्रतिशतले बढेको छ । ०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोडको वस्तु आयात भएको छ ।

अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोडको आयात भएको थियो । आयात हुने वस्तुमा सबैभन्दा अगाडि पेट्रोलियम पदार्थ छ । विभागका अनुसार १ खर्ब २८ अर्ब ७६ करोडको डिजेल, ६४ अर्ब ५८ करोडको पेट्रोल, ६२ अर्ब ५८ करोडको एलपी ग्यास गएको आवमा आयात भएको छ ।

डिजेल र पेट्रोल आयातको रकम अघिल्लो वर्षको तुलनामा घटेको हो भने एलपी ग्यासको रकम बढेको हो । आव ०८०/८१ मा पेट्रोल १ खर्ब २८ अर्ब ६ करोडको, डिजेल ६४ अर्ब १० करोडको र एलपी ग्यास ५५ अर्ब ६१ करोडको आयात भएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थलाई अत्यावश्यक वस्तुका रूपमा हेरिन्छ ।

आर्थिक वर्ष ०८१/८२ मा ४८ अर्ब ७६ करोडको शुद्ध फलाम, ४० अर्ब ८ करोडको तयारी कपडा, ३९ अर्ब ३१ करोडको एचआर सिट, ३७ अर्ब ४४ करोडको मोबाइल टेलिफोन आयात भएको तथ्यांक छ । आयात, निर्यात बढेसँगै व्यापार घाटा पनि ६ प्रतिशतले बढेको छ । विभागका अनुसार ०८१/८२ मा मुलुकको व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । ०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड थियो ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully