काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले घूस काण्डमा मुछिएका मन्त्रीहरूलाई कारबाही नगरिएकोमा आपत्ति जनाएको छ । भिजिट भिसा प्रकरणको छानबिन माग्दै ४८ दिनदेखि संसद्मा अवरोध र बहिष्कार गर्दै आएको रास्वपाले मन्त्रीहरूको घूस छानबिन गर्न पनि माग गरेको हो ।
रास्वपा सांसद विन्दाबासिनी कंशाकारले प्रतिनिधिसभाको बुधबारको बैठकमा घूस प्रकरणमा मुछिएका मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरिन् । रास्वपाको तर्फबाट बोलेकी उनले घूस काण्डमा मुछिएका मन्त्रीलाई राजीनामा गर्न लगाएर प्रकरण नै सेलाइएको बताइन् । 'टिभीको धारावाहिक शृङ्खलाजस्तै हरेक दिन भ्रष्टाचारका समाचार आइरहेका छन्,' उनले भनिन्, '७८ लाख काण्ड सेलायो, ३२ लाखवाला मन्त्री अझै यतै छन् । छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन ?'
घूस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा गरेका थिए भने भूमिमन्त्री बलराम अधिकारीमाथि पनि त्यस्तै आरोप लागेको छ । उनले राजीनामा गरेका छैनन् ।
मुलुकमा प्रणालीगत सुधारको आवश्यकता रहेको सांसद कंशाकारको भनाइ थियो । उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने बताइन् । संयुक्त राष्ट्रसंघले स्पेनमा गरेको कार्यक्रममा पनि भिजिट भिसामार्फत मानव तस्करी गरिएको उनको भनाइ थियो । 'भ्रष्ट र तस्करहरू सरकारसँग डराएका छैनन्,' उनले भनिन्, 'स्पेनको राष्ट्रसंघीय सम्मेलनमा समेत नक्कली सहभागी बनाएर लगिएको प्रमाण छ्यापछ्याप्ती छ, तर सरकारले न देख्छ, न सुन्छ, न संवाद गर्छ ।'
रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरेका छन् ।
