नागरिक उड्डयन प्राधिकरणद्वारा ३१ अर्बको बजेट सार्वजनिक

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

31 billion budget announced by the Civil Aviation Authority

What you should know

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार ३१ अर्ब ४० करोड रुपैयाँसहितको बजेट सार्वजनिक गरेको छ । यसमा पुँजीगत खर्च १२ अर्ब, कार्य सञ्चालन खर्च ६ अर्ब र वित्तीय व्यवस्थापन खर्च १३ अर्ब हाराहारी रहेको छ ।

पर्यटनमन्त्री बद्री पाण्डे अध्यक्ष रहेको प्राधिकरणको सञ्चालक समितिले बुधबार बिहान आर्थिक वर्ष २०८२/८३ का लागि पारित गरेको बजेटमा प्राधिकरणले आन्तरिक आम्दानी ५१ प्रतिशत, नेपाल सरकारबाट ऋण तथा शेयरबापत १८ प्रतिशत, बैंक मौज्दात १६ प्रतिशत, भ्याट लगायत सरकारी स्रोतबाट १३ प्रतिशत आम्दानीको स्रोत रहने जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्रोत अभावका कारण यो वर्ष नयाँ पूर्वाधार विस्तारका आयोजना बजेटमा नल्याएको बताए । ‘झन्डै ८ अर्ब रुपैयाँ बराबरका आयोजना स्रोत अभावका कारण बजेटमा समेट्न सकिएन’, महानिर्देशक अधिकारीले सिनामंगलमा आयोजित पत्रकार सम्मेलनमा भने ।

बजेटले उड्डयन सुरक्षा तथा नियमन सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन, एअर नेभिगेसन क्षमता तथा दक्षता अभिवृद्धि, यात्रु सेवा सुधार तथा हवाइ सेवा प्रवर्द्धन, अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्य लगायतलाई प्राथमिकता दिएको छ ।

त्यस्तै, गौरवका आयोजना अर्न्तगत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, गौतमबुद्ध विमानस्थललाई कार्गोमा विकास गर्ने लगायतका परियोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । त्यस्तै, बाजुरा, महेन्द्रनगर, डोटी, जुम्ला, बाजुरा, ताप्लेजुङ, डडेल्धुरा, दाङ, नेपालगन्ज, सिमिकोट, डोल्पा लगायतका क्षेत्रमा रहेका विमानस्थलको पूर्वाधार सुधार तथा बिस्तारलाई पनि बजेटमा समेटेको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अर्न्तगत सञ्चालित कार्यहरुका लागि पनि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमा बहुवर्षीय आयोजना अन्तर्गत अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सेवे बिस्तार, ह्यांगर निर्माण लगायतका काम भइरहेका छन् ।

यसैबीच पर्यटन बोर्डले पनि चालु वर्ष २०८२/८३ का लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । तर, केही प्रशासनिक झमेला आइलागेकाले बजेट भने सार्वजनिक गरिनसकेको एक बोर्ड सदस्यले बताए । उनका अनुसार बोर्डले असार ३१ गते नै बजेट पारित गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully