विश्वप्रकाशको चेतावनी : एमालेले राष्ट्रिय सभामा ‘कुलिङ अफ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Vishwaprakash's warning: If UML does not withdraw the 'Cooling of Period' amendment in the National Assembly, there will be a rift in the alliance.

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् ।

मंगलबार ४३ औँ बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिएका हुन् । उनले प्रतिनिधिसभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रूपमा छानबिन समिति बनाइएको स्मरण गराए । 

महामन्त्री शर्माले भने, ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्माननीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ। सँगै हामीले राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ।'

सर्वसम्मत रूपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने उनको चेतावनी थियो।

शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्लाबेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता पनि औँल्याए।

उनले भने, 'एउटै दलभित्र पनि दुई वटा, तीन वटा दृष्टिकोणहरू हुन्छन् भने स्वाभाविक छ अहिले दुई वटा दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचबाट साझा मतको खोजी गर्नुपर्छ।'

महामन्त्री शर्माले गठबन्धनमा उत्पन्न समस्याको हल खोज्ने जिम्मा प्रधानमन्त्री ओलीको रहेको पनि स्पष्ट पारे । 

'त्यसैले यो बेलामा सम्माननीय प्रधानमन्त्रीलाई यहाँबाट अपिल गर्नुपर्‍यो। अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुई वटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ,' उनले भने, 'यो दुइटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्यूले गम्भीरता राख्नुपर्छ।’

कान्तिपुर

Link copied successfully