अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन 

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

International Youth Day Core Ceremony Committee formed

What you should know

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २ सय ८५ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ । हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वव्यापी रूपमा युवा दिवस मनाउने प्रचलन छ । 

राष्ट्रिय युवा परिषद्‌‌को आयोजनामा मंगलबार सानोठिमीमा भएको बहुपक्षीय सरोकारवालाहरुको भेलाले परिषद् अध्यक्षसमेत रहेका मन्त्री चौधरीको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, विभिन्न आठ मन्त्रालयका सचिवहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषद‍्का सदस्य सचिव, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक, नेपाल स्काउटका प्रमुख आयुक्त, प्रदेश युवा परिषद्का उपाध्यक्ष सहितका प्रतिनिधि रहनेछन् । 

यसैगरी समितिमा नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, गैरसरकारी संस्था महासंघ नेपाल, हिसान, प्याब्सन, एनप्याव्सन लगायतका प्रतिनिधि पनि रहेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरुका प्रतिनिधिसमेत समितिमा रहने छन् ।

विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि, परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहने निर्णय भएको उपाध्यक्ष बस्नेतले जनाए । 

परिषद्‌का कार्यकारी उपाध्यक्ष बस्नेतको संयोजकत्वमा १७ सदस्सीय सचिवालयसमेत गठन गरिएको छ । उनले यही साउन २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ मनाउन समिति बनाइएको बताए । 

नवगठित समिति बैठकले सन् २०२५ का लागि संयुक्त राष्ट्रसंघले अघि सारेको मूल नारालाई नेपालीकरण गरी 'दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार' तय गर्दै दिवस मनाउन सबैलाई आह्वानसमेत गरेको छ । 

सन् २०००  देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरूको सम्मेलनको सिफारिसअनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । उक्त घोषणासँगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण, अधिकार र सशक्तीकरणलगायत विविध कार्यक्रमसहित मनाउने प्रचलन छ । 

नेपालमा पनि हरेक वर्ष राष्ट्रिय युवा परिषद्लगायत संघ–संस्थाले विविध कार्यक्रमका साथ युवा दिवस मनाउने गरेका छन् ।

कान्तिपुर

Link copied successfully