काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पूर्वपदाधिकारीहरू बुढानीलकण्ठ पुगेका छन् । कांग्रेसका पूर्वउपसभापतित्रय प्रकाशमान सिंह, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठसहितका नेताहरू देउवालाई भेट्न पुगेका हुन् ।
त्यस्तै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पनि साथमा रहेका छन् । पछिल्लो समय निजामती र भूमि विधेयकमा एमालेसँग खटपट भइरहेका बेला नेताहरू देउवालाई भेट्न पुगेका हुन् ।
सरकार गठनका बेला एमालेसँग गरिएको ७ बुँदे सहमति पूर्ण रूपमा लागू हुनुपर्ने कुरामा उनीहरूले देउवाको ध्यानाकर्षण गराएका छन् । सोमबार दिउँसो उपप्रधानमन्त्रीसमेत रहेका सिंहको चाक्सीबारीस्थित निवासमा ६ पूर्वपदाधिकारी जम्मा भएका थिए । भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी थिए । सोमबारको बैठकमा पनि प्रवक्ता महत पनि सहभागी थिए ।
अत्यधिक सार्वजनिक सरोकार र चासो बोकेको भूमि विधेयकलाई ‘फास्ट ट्र्याक’ मा अघि बढाउन भइरहेको प्रधानमन्त्रीको जोडबल र निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ हटाउने एमालेको संशोधन प्रस्तावले सत्तारूढ कांग्रेस–एमालेबीचमै खटपट सुरु भएको छ ।
भूमि विधेयकलाई छलफलका लागि संसदीय समितिमा लैजानुपर्ने कांग्रेससहित विपक्षी दलहरूको अडान छ । तर प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिमा नलगीकनै ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने पक्षमा छन् ।
गठबन्धनमा दरार आउने गरी कांग्रेसलाई सबैभन्दा बढी सशंकित भने निजामती विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था हटाउन राष्ट्रिय सभामा एमालेले राखेको प्रस्तावले बनाएको छ ।
