हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएका शिशुको उपचार क्रममा मृत्यु

श्रावण ६, २०८२

रासस

An infant who was rescued by helicopter and sent to Kathmandu died during treatment

What you should know

खोटाङ — जिल्ला अस्पताल खोटाङमा जन्मिएका शिशुको काठमाडौंमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो । 

गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो । जिल्ला अस्पतालमा सोमबार शल्यक्रियामार्फत जन्मिएका शिशुको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीका दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । आमाको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । 

जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए । जन्मिने समय एक साता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ । 

असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा उपचारमा आउने बिरामीका लागि दैनिकजसो हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ । बिनापूर्वाधार कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूरवाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषण गरेदेखि नै आलोचना सुरु भएको थियो ।

२०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ । 

रासस

Link copied successfully