भक्तपुरको मनोहरा फाँटमा फेला पर्‍यो नयाँ चरा

यो नयाँ चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

A new bird was found in the Manohara forest of Bhaktapur

काठमाडौँ — भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटमा नयाँ प्रजातिको चरा पुष्टि भएको छ ।

साइबेरियन स्यान्ड प्लोभर नामक चरा अभिलेख गरिएको हो । उक्त चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गत असार ६ गते फेला पारेको थियो । 

'सिमसिम पानी परिरहेको थियो, अचानक तिब्बेतियन स्यान्ड प्लोभरजस्तो चरा देख्यौं र फोटो खिच्यौं,' न्यौपानेले कान्तिपुरसँग भने, 'घरमा आएर फोटो हेर्दा केही फरक पाएपछि पुष्टिका लागि पठाएका थियौं ।'

प्रारम्भिक पहिचानपछि यकिन पुष्टिका लागि नेपाल पन्छीविद् संघमा असार ९ गते तस्बिरसहित विवरण पठाइएको थियो । प्राप्त विवरणको अध्ययन, राष्ट्रिय-अन्तर्राष्ट्रिय पन्छीविद्‌सँगको रायसुझावपछि नयाँ चरा पुष्टि गरिएको संघले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

A new bird was found in the Manohara forest of Bhaktapur

यो चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ । यो चरा साइबेरिया, मंगोलिया, फिनल्यान्ड, ताइवान, तिब्बत, भारत, जापान, कोरिया, मलेसिया, पपुआ न्युगिनी, अफगानिस्तान, ताइवान, तिब्बत, भुटान र अन्य क्षेत्रमा पाइन्छ । आईयूसीएन रेड लिस्टअनुसार यो चरा संकटापन्न सूचीमा पर्छ । 

यो चरासँगै नेपालमा चरा प्रजातिको संख्या ९०२ पुगेको नेपाल पन्छीविद् संघले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully