What you should know
पर्सा — वीरगन्ज महानगरपालिका–१९ विन्दावासिनीस्थित तिलावे नदीको किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको घेराबारमा तोडफोड भएको छ । महानगरले हालै गाडेका ८० पोलमध्ये ३४ पोल अज्ञात समूहले ढालेको हो ।
महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षणका क्रममा उक्त तोडफोड भएको फेला पारेको हो ।
गत असार महिनामै करिब ७ बिघा क्षेत्रफल ओगट्ने सो सार्वजनिक जग्गामा वृक्षारोपणको तयारीस्वरूप ८० पोल गाडी घेराबार गरिएको थियो। यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिले अनधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए । ती व्यक्तिकै मिलोमतोमा घेराबार तोडफोड गरिएको हुन सक्ने आशंका गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुँयालले बताए ।
सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पुर्याइएकोले यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रक्रिया पूरा गरी उजुरी दर्ता गरिसकेको फुँयालले सिंहलाई उद्धृत गर्दै बताए ।
महानगरले तिलावे नदी किनारको सार्वजनिक जमिनमा दीर्घकालीन योजना अनुरूप वृक्षारोपण गरी हरित क्षेत्रको विकास गर्ने तयारी गरेको थियो । सार्वजनिक हितविरुद्ध हुने यस्ता कार्य कुनै हालतमा स्वीकार्य नहुने फुँयालले बताएका छन् । घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपाय कडाइका साथ लागू गर्ने तयारी थालेको उनले बताए ।
