'सुदखोर' राजकिशोर यादवको घरबाट ९ तमसुक, २३ वटा लालपुर्जा बरामद
What you should know
जनकपुर — धनुषामा १५ हजारभन्दा बढी अनुचित लेनदेन (मिटरब्याज)को मुद्दा पोकामै छ । सरकारले अनुचित लेनदेनसम्बन्धी आयोग बनाएर काम गर्न थालेपछि धमाधम पीडितहरूले उजुरी गर्न थालेका थिए ।
साहुविरुद्ध न्यायिक प्रक्रियामा पीडित गएको देखेपछि गाउँमा सुदखोरहरू झन् निर्दयी बन्न थालेका छन् । तीनैमध्येका एक हुन्, जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादव । यादवले गत असार ३२ गते मिथिला नगरपालिका–८ की ३४ वर्षीया विमलाकुमारी ध्रोङचिङ मगरको घर पुगेर गालीबेइज्जती गर्दै जेल पठाउने धम्की दिएका थिए । त्यसको भोलिपल्ट विमलाले साहु यादवको नाम उल्लेख गर्दै 'सुसाइड नोट' लेखेर आत्महत्या गरिन् । यादवलाई साउन २ गते पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
विमला जनता राष्ट्रिय अधारभूत विद्यालय जमुनिबासकी शिक्षक थिइन् । साहुले धम्की दिएकै भोलिपल्ट बाल विकास कक्षा कोठाको सिलिङ पंखामा पासो लगाएको अवस्थामा उनको शव भेटिएको थियो । घटनास्थलबाटै प्रहरीले उनको ज ११ प ७४९२ नम्बरको स्कुटी फेला परेको थियो । उक्त स्कुटीको डिक्कीमा 'सुसाइड नोट' फेला परेको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए । एसपी रेग्मीका अनुसार डायरीमा रातो मसीले लेखिएको दुई वटा नोट छ । एउटा साहुलाई सजाय दिलाउन र एउटा छोरीलाई सम्बोधन गर्दै 'भाइ र बुबालाई सँधै साथ दिनू' भनेर लेखिएको छ ।
‘साहुलाई सजाय दिलाउन लेखेको नोटमा दुई पेज एक अनुच्छेदको छ । ३ लाख २० हजार रुपैयाँ लिँदा ५० लाख तिरिसकेको तर पनि साहुले अनावश्यक तनाव दिएको कुरा उल्लेख छ,’नोटमा लेखएिको शब्द उद्धृत गर्दै एसपी रेग्मीले भने,‘कृषि विकास बैंक र महालक्ष्मी विकास बैंकको ५ वटा ४५ लाखको चेक पनि लिएको छ । त्यो चेक दुई पटक बाउन्स पनि गराइसकेको छ ।’
विमलाकी सासू चन्दुमाया मगरले साहुले घरमै आएर धम्की दिएको बताइन् । जेल पठाउनेसम्मको धम्की दिएको उनको आरोप छ । ‘स्कारपियो लिएर साहु घरमा आउँदा हामीले हारगुहार गरेका थियौं । पैसा पनि दिन्छौं नै भनेका थियौं,’उनले भनिन्,‘तर, साहुले जेल पठाइदिन्छु भन्दै अपशब्द प्रयोग गरेका थिए ।’
सासू पर्ने गौरी जर्घाका अनुसार पनि जनकपुरको राजकिशोरलाई पैसा तिर्न महालक्ष्मी र कृषि विकास बैंकबाट ऋण लिइएको थियो । त्यहाँबाट पनि नपुग्दा आफ्न्तबाट सापटी लिएका थिए । त्यसपछि पनि धेरै तनाव र गालीबेइज्जती गरेपछि केही महिनाअघि ४५ लाखको पाँच वटा चेक पनि दिएको उनले बताइन् । ‘त्यति साहुको पैसा थिएन । कति थियो ठ्याक्कै मलाई पनि थाहा छैन,’ उनले भनिन्,‘तर जम्मा पैसाको चार गुणा बढीको चेक लिएर दुई पटक बाउन्स गराएको थियो ।’
विमलाका श्रीमान् घनश्याम मगर वैदेशिक रोजगारीका क्रममा यूएईको दुबई थिए । उनी आइतबार घर आइपुगिसकेका छन् । उनले पनि विदेशमा पसिना बगाएर कमाएको पैसा यादवलाई नै दिएको बताए । ‘केही पैसा मात्रै घरखर्चमा लागेको छ । बाँकी पैसा उसलाई नै तिरिरहेको थिएँ,’उनले भने,‘साहुको चंगुलमा फसेपछि बर्बाद भयौं ।’
धनुषाका डीएसपी वरुणबहादुर सिंहले साहुको घरबाट विभिन्न व्यक्तिहरूको नामको सक्कल र प्रतिलिपि कपाली तमसुक ९ वटा, जग्गा धनी पुर्जा २३ वटा, बैंक भौचर र चेक बरामद भएको बताए । प्राप्त प्रमाणका अधारमा पहिला आत्महत्या दुरुत्साहन र त्यसपछि अनुचित लेनदेन मुद्दा लगाउने तयारी भएको डीएसपी सिंहले बताए ।
अधिवक्ता रिंकुकुमारी यादवले आत्महत्या दुरुत्साहन मुद्दा मात्रै चलाउँदा पीडितले न्याय पाउने सम्भावना कम हुने बताइन् । आत्महत्या पीडित पक्षको आरोपले मात्रै प्रमाणित गर्न समस्या हुने उनको जिकिर छ । ‘विकल्प हुँदाहुँदै आत्महत्या गरेको विषय अदालतले इन्कार गर्छ,’उनले भनिन्,‘त्यसकारण यस्तो घटनामा प्रहरीको अनुसन्धान ठोस हुनुपर्छ ।’ प्रहरीले आत्महत्या दुरुत्साहन र प्रमाणहरूको अधारमा अनुचित लेनदेनसहितको मुद्दा लगाउनुपर्ने उनले बताइन् ।
