दुर्घटनाले सौर्यमा संकट, व्यवस्थापनको प्राथमिकता महायज्ञ

श्रावण ५, २०८२

सुरज कुँवर

Crisis in solar due to accident, priority of management Mahayagya

What you should know

काठमाडौँ — सौर्य एयरलाइन्सका इन्जिनियर र प्राविधिकसहित १८ जनाको ज्यान जाने गरी भएको त्रासदीपूर्ण जहाज दुर्घटना जाँच आयोगको प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

 एयरलाइन्सको कमीकमजोरी सुधारका लागि तत्काल गर्नुपर्ने ११ बुँदासहितको प्रतिवेदन अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ), युरोपियन युनियन, नेपाल सरकार, नियामक निकाय नागरिक उड्डयन प्राधिकरण, वायुसेवालगायत उड्डयन क्षेत्रका सबै सरोकारवालाको हात–हातमा पुगिसकेको छ । 

सौर्यमा भएका जस्तै कमजोरी हुन नदिन आन्तरिक उडानमा रहेका अन्य वायुसेवाले सुधारका लागि पहल थालिसकेका छन् । यति बेला सौर्य एयरलाइन्सको नेतृत्व पनि संरचनात्मक सुधारमा दिनरात नभनी लागिपर्ने बेला हो । तर एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलसहितका कर्मचारी जहाज दुर्घटनाको दोष मेटाउन भन्दै पशुपतिमा श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञानमहायज्ञ सफल बनाउन व्यस्त छन् ।

‘अहिले म पशुपतितिर पितृमुक्ति महायज्ञमा व्यस्त छु,’ सौर्यका अध्यक्ष पोखरेलले कान्तिपुरसँग भने, ‘दुर्घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको खबर पाए पनि हेर्न पाएको छैन । यो महायज्ञ नसकेसम्म प्रतिवेदनमा के के आएको छ हेर्दिनँ ।’

अध्यक्ष पोखरेलले ३२ असारदेखि पशुपतिमा रहेको सुमार्गी भवनमा महायज्ञ लगाएका हुन् । उनले महायज्ञलाई सौर्य एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाउनेहरूमा मात्रै समर्पण गरेका छैनन्, आगामी दिनमा यस्ता दुर्घटना नहोऊन् भनेर प्रार्थना पनि गरेका छन् ।

‘२०८१ साउन ९ का दिन सौर्य एयरलाइन्स विमान दुर्घटनामा दिवंगत हुनुभएका सम्पूर्ण पितृहरूको वैकुण्ठ बासको कामना एवं आजसम्म नेपालमा विमान दुर्घटनामा दिवंगत ज्ञात–अज्ञात सम्पूर्णको देहमुक्त जीवात्माको गति मुक्तिको कामनासहित आगामी दिनमा यस्ता दुर्घटना नहोस् भनी आराध्यदेव पशुपतिनाथ भगवान्सँग प्रार्थना गर्दछौं,’ सौर्य एयरलाइन्सले बाँडेको निमन्त्रणा कार्डमा लेखिएको छ । 

यता सौर्य एयरलाइन्सको दुर्घटना जाँच आयोगको प्रतिवेदनले भने दुर्घटना मानवीय र प्राविधिक लापरबाहीको परिणाम भएको जनाएको छ । ‘सौर्य एयरलाइन्सको अध्ययन गर्दा त्यो वायुसेवा कम्पनी सबैभन्दा पहिलो सिस्टममै चलेको छैन,’ दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमनले भने, ‘उडान सुरक्षा भनेको स्ट्यान्डर्ड पालना गरेर आउने हो, नियम कानुन मापदण्डहरूले ल्याउने हो ।’ 

जहाज दुर्घटना हुनुमा ‘स्पिडकार्ड’ गलत भएको, ‘स्ट्यान्डर्ड अपरेसन प्रोसिजर’ को पालना नभएको सुमनको भनाइ छ । जाँचमा संलग्न अर्का एक पदाधिकारीले सौर्यको व्यवस्थापन भद्रगोल भएको, नेता, मन्त्री, उच्च अहोदाका कर्मचारीका आफन्तजन र लगानीकर्ताका नातागोता आफन्त हाबी भएको दाबी गरे । ‘यो एयरलाइन्सभन्दा त रत्नपार्कमा चल्ने टेम्पो धेरै कुरामा व्यवस्थित लाग्यो,’ उनले भने । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्यलाई ग्राउन्डेड गरेको वर्ष दिन पुग्दै छ । यो कम्पनीका दुइटा सीआरजे जेट विमान छन् । ‘सौर्यमा धेरै लापरबाही छ । लगानी छैन । दुई सय हाराहारी कर्मचारीमा पनि निराशा छ,’ प्राधिकरणका एक प्रबन्धकले भने, ‘दुर्घटना जाँच आयोगको प्रतिवेदन आएपछि एयरलाइन्सले चेकलिस्टअनुसार सुधार्नुपर्ने कार्यलाई तीव्रता दिनुपर्ने हो । तर महायज्ञतिर लागेको छ, मृत्युञ्जय जप गरेर वा सप्ताह लगाएर पनि कतै वायुसेवा कम्पनी चल्छ ?’

जाँच आयोगले सौर्यले ‘फ्लाइट डेटा मनिटरिङ’ (एफडीएम) कार्यक्रम दुरुस्त लागू नगरेको निष्कर्ष निकालेको छ । पाइलटमा ‘टेकअफ पिच’ सम्बन्धी तालिमको अभाव रहेको र पुरानो स्पिडकार्ड प्रयोग गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

ग्राउन्ड स्टाफले लोड, तौललाई बाँध्ने र सन्तुलित लोड वितरण गर्न नजानेको समेत देखिएको छ । जहाज ‘टेकअफ’ का बेला पाइलटहरूबीच समन्वयको अभावसमेत पाइएको छ । त्यस्तै उडान सुरक्षासँग सम्बन्धित कागजात र प्रणालीको समेत उल्लंघन गरेको आयोगले जनाएको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully