What you should know
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा १२ दिनदेखि पठनपाठन बन्द गरेर प्राध्यापकहरुबाट भईरहेको आन्दोलन स्थगित भएको छ । त्रिवि उपकुलपतिसहित पदाधिकारीले संस्थानको विकेन्द्रीकरण र स्वायत्तता कायम राख्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोकेर मंगलबारदेखि कक्षाकोठामा फर्कन लागेको आन्दोलन संयोजक प्राध्यापक संगीता सिंहले बताइन् ।
उपकुलपति दीपक अर्याललगायत त्रिवि पदाधिकारीले माग पूरा गर्ने आश्वसन दिएको उनले जनाइन् । ‘आन्दोलनसँगै वार्ता र छलफलमा पनि थियौं । त्रिविबाटै विकेन्द्रीकरण कायममै रहने वाचा आएपछि आन्दोलन रोकेका छौं ।’
संस्थानका प्राध्यापक असार २५ गतेदेखि पुल्चोकसहित ५ वटा क्याम्पसको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । पठनपाठन बन्द गरिएको भन्दै विद्यार्थीलगायत सरोकारवालाबाट आलोचना हुँदै आएको थियो । त्रिविले स्वायत्तता र विकेन्द्रीकरणअर्न्तगत आर्थिक अधिकार खोसेको आरोप लगाउँदै प्राध्यापकले आन्दोलन थाल्दा पुल्चोक, थापाथली, पोखरा, धरान र चितवन इन्जिनियरिङ क्याम्पसको कक्षा सञ्चालन रोकिएको थियो । प्राध्यापक संघले नै आन्दोलनको नेतृत्व गरेको थियो ।
संस्थानलाई २०५५ सालमा त्रिविले संस्थानलाई विकेन्द्रीकरण र स्वायत्तताको अधिकार दिएको थियो । त्यसविपरीत २०८० को त्रिवि सिनेटले आर्थिक अधिकार कटौती गरेको प्राध्यापक संघको भनाइ छ । आर्थिक, प्रशासनिक र शैक्षिक स्वायत्तता दिए पनि आर्थिक अधिकार कटौती भएपछि शैक्षिक र प्रशासनिक स्वायत्ततामा पनि असर पुगेको आन्दोलनरत पक्षको भनाइ थियो ।
विकेन्द्रीकरण र स्वायत्तता अधिकार दिएका त्रिविका निकायले आर्थिक, प्रशासनिक र शैक्षिक गतिविधिमा थप स्वतन्त्रता प्राप्त गरेका हुन्छन् । २०८० को बजेट सिनेटले विकेन्द्रीकरण र स्वायत्ततासम्बन्धी नियमबाट पदाधिकारी, शिक्षक, कर्मचारीलाई प्रदान गरिएको प्रोत्साहन, पारिश्रमिक, र अन्य सुविधा कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविपरीत इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, कर्मचारीले गरेको खर्च लेखा परीक्षणमा बेरुजु देखिएको छ । बेरुजु आएपछि उनीहरू आक्रोशित हुँदै आन्दोलनमा जुटेका थिए ।
स्वायत्तता र विकेन्द्रीकरण नियमअनुसार संस्थानले आर्थिक रूपमा आफैं आम्दानी गर्न सक्ने र त्यसको ८० प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था छ । त्यसअनुसार संस्थानले आत्मनिर्भर शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । जसमा पूर्णशुल्कीय कार्यक्रम, नियमित (कम शुल्कमा) इन्जिनियरिङको पढाइ हुन्छ । स्नातकोत्तर, विद्यावारिधि पनि सोही कार्यक्रमअन्तर्गत सञ्चालन भएका छन् ।
