एमाले केन्द्रीय कमिटी बैठकमा बोल्ने ४९ मध्ये ६ जनाको फरक मत

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता र राजनीतिमा आउनेबारे पार्टीले छिटो निर्णय गर्नुपर्ने धारणा

श्रावण ५, २०८२

गंगा बीसी

6 out of 49 who spoke at the UML central committee meeting had a different opinion

What you should know

काठमाडौँ — एमाले केन्द्रीय कमिटीको सोमबारको बैठकमा बोल्ने ४९ केन्द्रीय सदस्यमध्ये ६ जनाले मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा फरक मत राखेका छन् । अधिकांशले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउन नहुने धारणा राख्दा ६ जनाले भण्डारीको विषयमा फरक धारणा राखेका हुन् । उनीहरुले भण्डारीको समर्थन नगरे पनि यस विषयमा पार्टीले चाँडो निर्णय लिनुपर्ने बताएका थिए ।

बैठकको सुरुवातमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको पोलिटब्युरो बैठकलाई ‘कट अफ’ बैठक भएको भन्दै फरक मत राखे कारबाही भोग्ने चेतावनी दिएका थिए । उनले ओलीले भण्डारीको प्रवक्ता नबन्न पनि निर्देशन दिएका थिए । ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्‍यो त्यो,’ ओलीले भने, ‘उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन । हिजो (आइतबार) को बैठकलाई ‘कट अफ’ बैठकका रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।’

ओलीले उमेर हदको विषयमा गलत प्रचार भएको बताए । ‘उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्षको प्रचार गर्ने ? त्यस्तै भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो,’ उनले भने, ‘एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ ।’

त्यसपछि बोल्ने अधिकांश केन्द्रीय सदस्यले आगामी महाधिवेशनमा ओलीको नेतृत्वको विकल्प सोच्न नसकिने बताएका थिए । तर केन्द्रीय सदस्यहरु रचना खड्का, अरबिन्द सिंह, इन्द्रलाल सापकोटा, कृष्ण पौडेल, दिवाकर देवकोटा र सरोज यादवले फरक धारणा राखेका थिए । उनीहरुले विधानको मस्यौदामा नीति, आगामी कार्यक्रम, पार्टी प्रणालीमा छलफल गर्नुपर्ने बताएका थिए । ७० वर्षे उमेर हद र एउटै पदमा एकै व्यक्ति दुई कार्यकालसम्बन्धमा पनि उनीहरुको फरक मत थियो ।

6 out of 49 who spoke at the UML central committee meeting had a different opinion

‘विधान ५ वर्षका लागि हो । समीक्षा, कार्यक्रम, चुनौती र आगामी बाटोबारे छलफल हुनुपर्ने हो,’ केन्द्रीय सदस्य रचना खड्काको भनाइ थियो, ‘तर छलफल प्रणाली बलियो बनाउनेभन्दा विभाजन गर्नेतिर गयो ।’ उनले पूर्वराष्ट्रपति राजनीतिमा आउने–नआउनेबारे छलफल गरेर जान सकिने भए पनि विभाजनतिर लगिएको बताइन् । ‘पार्टीमा एकअर्कालाई निधेष गरे जानु हुँदैन,’ उनले भनिन् ।

अर्का सदस्य अरबिन्द सिंहले उमेर हद आफूअनुकूल हटाउने र राख्ने कुरा अन्त्य हुनुपर्ने बताए । पूर्वराष्ट्रपति राजनीतिमा आउने विषय पनि छिटो टुंग्याउनुपर्ने उनको भनाइ थियो । ‘पूर्वराष्ट्रपतिको सदस्यता कसैले नवीकरण भइसकेको छ भन्छ, कसैले पेन्डिङ । जे गर्ने हो छिटो टुंग्याउन जरुरी छ ।’ पूर्वराष्ट्रपति राजनीतिमा आउनै पर्छ वा आउन हुँदैन भने कित्ताकाँट गर्न नमिल्ने केन्द्रीय सदस्य कृष्ण पौडेलले बताए । ‘उमेर हद, दुई कार्यकालको प्रावधान किन ल्याएको हो ? कसरी हट्यो ? विचार गर्नुपर्छ,’ उनको भनाइ थियो, ‘व्यक्ति केन्द्रित गरेर उमेर हद घरी लगाउने, हटाउने गर्नु हुँदैन ।’

सांसद एवं केन्द्रीय सदस्य पदम गिरीले अध्यक्ष ओलीले विगतमा धेरै अप्ठ्यारो स्थितिबाट जोगाएर एमालेलाई अहिलेको अवस्थामा ल्याएको बताए । त्यसैले मिसन ०८४ का लागि ओली नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । ‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण राजनीतिक विषय हो । पूर्वराष्ट्रपति राजनीतिमा फर्कने कुराले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कस्तो असर गर्छ ? छलफल गर्नुपर्छ,’ उनले भने ।

6 out of 49 who spoke at the UML central committee meeting had a different opinion

केन्द्रीय सदस्य निरज आचार्यले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीति गर्ने अधिकार भए पनि नैतिक प्रश्नसँग जोडिएको बताए । ‘पूर्वराष्ट्रपति गणतन्त्रको प्रतीक हो, उहाँ राजनीतिक प्रणालीको धरोहर हो,’ उनको भनाइ थियो, ‘शिखरमा पुगी फेरि ओर्लिएर पुनः दलगत राजनीतिमा फर्कनु गणतान्त्रात्मक प्रणालीको संस्कार र पद्धति होइन ।’ अर्का केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रपति आलंकारिक पद भएकाले अवकाशपछि पुनः राजनीतिमा आउँदा प्रश्न उठ्ने बताए । केन्द्रीय सदस्य राजीव पहारीले एमाले नेतृत्वका लागि ओलीको विकल्प नभएको बताए ।

अधिकांश केन्द्रीय सदस्यले विधान मस्यौदामा समर्थन गरेका छन् । ‘मूल रूपमा विधान मस्यौदाको समर्थनमा विचार आएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘केही प्राविधिक विषय सच्याउन सुझाव आएको छ ।’

6 out of 49 who spoke at the UML central committee meeting had a different opinionतस्बिर : रासस

बैठकमा एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताएका छन् । आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराए । ‘आइतबारको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ । राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ,’ ओलीले केन्द्रीय कमिटीमा भने, ‘उहाँ (भण्डारी) ले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ ।’

उनले पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भेटेको बताएका छन् । ‘भेटवार्तासम्बन्धी प्रस्ताव उहाँबाटै आएको हो । कहाँ भेट्ने ? भन्ने प्रश्नमा उहाँले पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो,’ ओलीले बैठकमा भने, ‘तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’

गंगा बीसी

Link copied successfully