ओलीसँग राष्ट्रिय राजनीतिबारे कुरा भयो, पार्टी सदस्यता नवीकरण भइसकेको छ : पूर्वराष्ट्रपति भण्डारी

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Talked about national politics with Oli, party membership has been renewed: Former President Bhandari

What you should know

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको कुरा दोहोर्‍याएकी छिन् । आइतबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सदस्यता नवीकरण पुरानै कुरा भएको बताएकी हुन् । 

पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै दुई घण्टा कुराकानी भएको थियो । भण्डारीले ओलीसँग आइतबार राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भएको दाबी गरिन् । उनले भनिन्, 'उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो । अहिलेको समस्या र परिस्थितिबारे कुराकानी भयो । अरु विषय आधिकारिक च्यानलबाट थाहा हुन्छ  ।'

त्यस्तै पछिल्लो समय एमाले नेताहरूले भण्डारीको सदस्यता नवीकरण 'पेन्डिङ' मा भएको दाबी गरिरहँदा भण्डारीले भनिन्, 'त्यो त पुरानै कुरा भयो  । पार्टी सदस्यता नवीकरण त पहिले नै भइसकेको छ ।'

शनिबार सचिवालय बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा भएको दाबी गरेका थिए । सदस्यता नवीकरण भन्ने विषयमा पार्टी विधानको धारा ८ र ९ आकर्षित भएको उल्लेख गर्दै यसबारे थप छलफल हुने बताए । ‘पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण पेन्डिङमा रहेको छ,’ उनले भनेका थिए, ‘यसबारे थप छलफल गर्ने निर्णय भएको छ ।’

भण्डारीले २०८० मा सदस्यता नवीकरण गरेको बताए पनि पार्टीभित्र विवाद उत्पन्न भएको छ । राष्ट्रपति निर्वाचित भएपछि सदस्यता त्यागेको अवस्थामा सदस्यता नवीकरण गर्न नमिल्ने तर्क संस्थापन पक्षको छ । उनीहरूले नयाँ सदस्य प्राप्तिका लागि संगठन विभागले निर्णय गर्नुपर्ने बताएका छन् । भण्डारी पक्षले भने पुरानै सदस्यता नवीकरण गरिएको बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully