16 Updates
देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सातवटा दाबी परेको छ ।
रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो ।
बाढीले डाइभर्सनमा क्षति पुर्याएका कारण अवरुद्ध भएका दुईवटा सडक अस्थायी रुपमा खुलाइएको छ । मध्य पहाडी राजमार्गको पाँचथर खण् र फिदिम याङनाम, फालौट खण्ड आइतबार साँझदेखि सञ्चालनमा आएका हुन् ।
यी दुई सडक खुलेपनि मेची राजमार्गको हेवा खोला र तमोर करिडोरका नावा खोलाको अवरोध भने यथावत् छ । हेवा खोलाको अवरोध हटाउन दिनभर प्रयत्न गरेपनि पानीको बहाव नघट्दा सम्भव नभएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
गोरखा जिल्लाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ । समन्वय समितिको आइतबारको बैठकले अविरल पानी परिरहेको अवस्थामा गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो ।
ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । - हरिराम उप्रेती
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए ।
सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा एक्स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका सवारीसाधन चलिरहेको प्रजिअ पौडेलले जानकारी दिए ।
बुटवल-रिडी-रुद्रवेणी-वामी-बुर्तिबाङ सडक खण्ड अन्तर्गत गुल्मीको चन्द्रकोट गाउँपालिका-८ तल्लोफाँटस्थित गेदीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आइतबार दिउँसोदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
शनिबारदेखि सुरु भएको अविरल वर्षाका कारण पूर्वोत्तर रोल्पाको उवामा पहिरो खस्दा घरमा च्यापिएर एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार शनिबार बेलुका ६ बजेतिर थबाङ गाउँपालिका–४ उवास्थित थापाखर्कमा स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घरमाथिबाट पहिरो खस्दा उनको मृत्यु भएको हो । उनको घर ढुंगा र माटोबाट बनाइएको थियो
अत्यधिक वर्षा भइरहेका बेला घरभित्र रहेका उनलाई घरसमेत बगाएर झन्डै ३० मिटर मुनि पुर्याएको थियो । परिवारका अन्य ५ जना भने घटना हुँदा घर बाहिर भएकाले सुरक्षित अवस्थामा भएको उक्त वडाका अध्यक्ष हिक्मतसिंह घर्तीमगरले बताए । - काशीराम डाँगी
सिमसिमे वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै आज ढुंगा खस्दा एक भारतीय नम्बर प्लेटको गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनामा केही घाइते भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
उक्त क्षेत्र पहिरोको उच्च जोखिमयुक्त मानिएकोले यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षापछि नवलपरासीको नारायणी नदीमा पानीको सतह बढ्दो क्रममा छ। आइतबार दिउँसो साढे १ बजे नारायणगढस्थित नारायणी पुलमा पानीको सतह ८ दशमलव २७ मिटर पुगेको थियो । शनिबार रातिसम्म नारायणी नदीमा पानीको सतह ५ दशमलव ७५ मिटरमा सीमित थियो । गण्डकी प्रदेशका पहाडी जिल्लामा वर्षा भइरहेकाले यहाँ पानीको सतह बढेको हो। नारायणी नदीमा मिसिने खोलाहरूमा पानीको बहाव बढ्दोक्रममा रहेको छ।
पूर्वी नवलपरासीस्थित नारायणी नदी आसपासका बस्तीमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ। पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा आइतबार बिहानदेखि वर्षा भइरहेको छ। -नारायण शर्मा, नवलपरासी
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्। उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन्। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन्। विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका हुन् । 'मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलिमिटर वर्षा भएको छ । पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको बताए । भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने उनको भनाइ छ । अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ । यसैबीच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ । स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।
पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । पहिरोमा छविलालकी श्रीमती विष्णुमती बेपत्ता छिन् । गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए ।
अविरल वर्षाले दिक्तेल–गाईघाट सडक शनिबार रातिदेखि अवरुद्ध भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ रेग्मीटारदेखि तुवाखोलासम्म अन्दाजी ४ किलोमिटर क्षेत्रमा पहिरो खसेको तथा सडक पानीले खोलेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त सडकखण्डमा तत्काल सवारीसाधन आवतजावत नहुने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।
अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक थुनिएको हो । मोटरसाइकल र साना सवारीसाधन आउजाउ भए पनि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् । तातोपानी नाकाबाट सामग्री बोकेर काठमाडौं पुर्याएर फर्केका कन्टेनर जुरेभन्दा केही पर रोकिएका छन् ।
पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन् । मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ । तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको छ भने ठाउँठाउँमा गएको पहिरोका कारण राँके-रवि ६ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि ठप्प भएको छ । मध्यपहाडी राजमार्गको पाँचथर खण्डअन्तर्गत रिजाल भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको छ ।











