मकवानपुरका सीडीओ र एसपीविरुद्ध हेटौंडाका जनप्रतिनिधि आन्दोलित

दुई दिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेबल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा

श्रावण ४, २०८२

सुवास विडारी

People's representatives of Hetaunda protested against the CDO and SP of Makwanpur

What you should know

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

उपमहानगरका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा प्रवाह गरी आन्दोलनको सुरुवात गरेका हुन् ।

वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटनाको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।

People's representatives of Hetaunda protested against the CDO and SP of Makwanpur

हेटौंडाका वडाअध्यक्षहरुले दुई दिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेबल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् । ‘वडाध्यक्षमाथि आक्रमण भएको एक महिना भइसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुर प्रहरी प्रशासनको लाचारीपन हो,’ हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’ 

People's representatives of Hetaunda protested against the CDO and SP of Makwanpur

वडाध्यक्ष न्यौपानेमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै हेटौंडामा प्रहरी- प्रशासनको चौतर्फी विरोध भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काबाट न्याय पाउने सम्भावना नरहेकाले वार्तामा नबस्ने जनप्रतिनिधिले जनाएका छन् ।  

करिब एक महिना अगाडि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडाध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी आन्दोलित भएका थिए । 

प्रहरीले वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्यसमेत गर्न छोडेको आरोप जनप्रतिनिधिको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully