रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

RSVP is in favor of abolition of state assembly: Manish Jha

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए।

प्रदेश सभामा पुग्ने व्यवस्था प्रदेशकै स्थानीय तहमार्फत बनाउने गरी आफूहरू अघि बढिरहेको जानकारी दिए। पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभा सञ्चालन गर्ने व्यवस्था गरेपछि प्रदेश र स्थानीय तहबीचको समझदारी र समन्वय अझ प्रभावकारी हुने उल्लेख गरे।

रास्वपाले संघमा २१ वटा मन्त्रालय घटाएर १५ मा सीमित गर्ने योजना अनुरूप आफ्नो नीति अघि बढाइरहेको पनि उनले बताए । विभिन्न कालखण्डमा गठन गरिएका आयोगहरू खारेज गर्ने पक्षमा समेत रास्वपा रहेको उनको भनाइ छ।

सांसद झाले भने, ‘'हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ। प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह। पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्दछ। त्यसपछि प्रदेश र स्थानीयको तादात्म्यता, कोअर्डिनेसन अझ प्रभावकारी हुन्छ। अहिले त एक–अर्कालाई चिन्नै, बुझ्नै चाहँदैनन्। यसरी हामीले हाम्रो योजना र नीतिहरूको व्याख्या गर्न सक्नुपर्छ।'

उनले थपे, ‘हामी कहाँ खर्च कटौती गर्छौँ भने लगभग ११२ वटा आयोग, नियोग छन्। ती विभिन्न कालखण्डमा बनाइएका थिए। अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छन्। तर त्यसको काम छैन। ती ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई–चार अर्ब बचिहाल्छ।’

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको आफ्नै योजना, सिद्धान्त र रणनीति नरहेको आरोप लगाउँदै रास्वपाका नेताहरूको जवाफ दिएर मात्र बस्ने काम भइरहेको बताए। सत्तापक्षले संसद्मा प्रतिपक्षको खण्डन नगर्ने उल्लेख गर्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने दाबी पनि गरे ।

कान्तिपुर

Link copied successfully