रकम अभावले गुणस्तरीय पोसाक र बुट किन्न नसकिएको सशस्त्र प्रहरी प्रमुख राजु अर्यालको भनाइ
What you should know
काठमाडौँ — काडमाडौं उपत्यकामा कार्यरत सशस्त्र प्रहरीका लागि दैनिक रासन भत्ता कम भएको सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालले जानकारी दिएका छन् । उनले सशस्त्र प्रहरीका लागि रासनदेखि पोसाक भत्तासम्म कम भएको बताए ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा आईजीपी अर्यालले सरकारले तोकेको मापदण्डअनुसार नै पोसाक भत्ता किन्न पुग्ने बजेट अभाव रहेको बताए ।
काठमाडौं उपत्यकामा काम गर्ने सशस्त्र प्रहरीको दैनिक रासन भत्ता पनि न्यून रहेको अर्यालको भनाइ थियो । 'धेरै समस्यामा काम गर्नुपरेको छ । सुरक्षाकर्मीलाई रासन पनि धेरै कम छ । मैले पहिला पनि जाहेर गरे काठमाडौंमा बिहान चियादेखि बेलुकी सुत्ने बेलासम्मको रासन भत्ता २०३ रुपैयाँ छ । त्यो रकमबाट नै व्यवस्थापन गर्नुपर्ने अवस्था छ,' अर्यालले थपे, 'सरकारले नै तोकेको मापदण्ड अनुसार कपडा किन्ने हो भने वार्षिक ३ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर गतवर्ष हामीलाई ६१ करोड १८ लाख रुपैयाँ मात्रै दिइयो । यो रकमले पोसाक किने बुट किन्न नपुग्ने, बुट किने पोशाक किन नपुग्ने अवस्था छ ।' रकम अभावले गुणस्तरीय पोसाक र बुट किन्न नसकिएको उनले बताए ।
सशस्त्र प्रहरी प्रमुख अर्यालले १७ वटा जिल्लामा अस्थायी कार्यालय राखेर काम गर्नुपरेको बताए । धादिङ, सिन्धुली लगायतका १७ जिल्लामा सशस्त्र प्रहरीको स्थायी कार्यालय नभएको उनले बताए । सरकारले चार सय २५ बीओपी स्थापना गर्ने लक्ष्य लिएपनि दुई सय ६० वटा मात्र स्थापना गर्न सकिएको उनले बताए । सशस्त्र प्रहरीसँग चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधानको अभाव रहेको पनि उनले जानकारी गराए ।
बजेट र अन्य आवश्यक साधनको अभावमा पनि प्रहरीले काम गरिरहेको अर्यालले बताए । प्रहरीका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।
