इमेज सहकारी ठगीका अभियुक्त नेपालीसँग १ हजार ५७ उजुरीकर्ताको मिलापत्र

१ अर्ब ५४ करोड रुपैयाँ ठगी गरेको आरोपमा देवकुमार नेपालीविरुद्ध १ हजार ५ सय ४३ बचतकर्ताले असार २०८० मा जाहेरी दिएका थिए

श्रावण २, २०८२

प्रकाश बराल

Agreement of 1 thousand 57 complainants with Nepali accused of image cooperative fraud

बागलुङ — बचत रकम ठगीको आरोपमा पुर्पक्षमा रहेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग १ हजार ५७ पीडित बचतकर्ताले मिलापत्र गरेका छन् । अधिकांशले घरसारमा मिलेर रकम पाएको भन्दै बचतअनुसारको मिलापत्र बनाएका हुन् ।

१ लाख रुपैयाँभन्दा कम बचत गरेका अधिकांशले नगदै पाएका छन् भने अन्यले लेनदेनको कागज बनाएका छन् । 

१ अर्ब ५४ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपालीविरुद्ध सहकारीका १ हजार ५ सय ४३ बचतकर्ताले असार २०८० मा जाहेरी दिएका थिए । जिल्ला अदालतले ५ साउन २०८० मा सहकारी ठगी मुद्दामा सञ्चालकहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । भदौ २०८० मा पुनः ३० जनाले पूरक जाहेरी दिएका थिए । फरार रहेका नेपालीलाई भारतबाट पक्राउ गरेर ल्याई असोज २०८१ मा थुनामा पठाइएको थियो । उनी ढोरपाटन नगरपालिकाका निलम्बित प्रमुख पनि हुन् ।

नेपालीलाई आरोप लागेको बिगोभन्दा सम्पत्ति बढी भएकाले बेचेर पनि दिने आश्वासन पाएपछि पीडितहरूले मिलापत्रको अभियान थालेका थिए । बुधबारसम्म जाहेरवालामध्ये १ हजार ५७ जना मुद्दा फिर्ताको पक्षमा उभिएका छन् । बुधबार मात्रै ठूलो रकम भएका सरिता कँडेल, डिलबहादुर कार्की र लोकेन्द्र केसीले पनि मिलापत्र गरेका छन् । 

अब २५ करोड रुपैयाँ ठगीको जाहेरी बाँकी रहेको जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले बताए । ‘सबै जना मिलापत्रमा गएको खण्डमा नेपाली थुनामुक्त भएर पीडितको रकम फिर्ता गर्न चल, अचल सम्पत्ति बिक्री गर्न सक्छन्’ शर्माले भने । पीडितले ६ महिनादेखि मिलापत्रको अभियान चलाएका थिए । ‘यो अभियान लगभग पूरा हुने अवस्थामा पुगेको छ,’ नेपालीका कानुन व्यवसायी अधिवक्ता राम शर्माले भने ।

सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङ र पोखरामा गरी १ अर्ब ५४ करोड रुपैयाँ रकम हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । त्यसबाहेक नेपालीले बागलुङमै रहेको राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण नतिरेपछि गत महिना बागलुङ नगरपालिका–२ मा रहेका २ वटा घर लिलामी गरिएको थियो । लिलामीबाट २१ करोड असुल भएको छ ।

 सहकारी ठगीकै मुद्दामा इमेजका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरू जिल्ला अदालत बागलुङको ५ साउन २०८० को आदेशले पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully