राज्यका निकायलाई प्रेस काउन्सिलले सम्झायो क्षेत्राधिकार : पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा हस्तक्षेप नगर्न आग्रह

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Press Council reminds state agencies Jurisdiction: Journalist code of conduct and freedom of the press

काठमाडौँ — प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका सवालमा राज्यका निकायहरूको हस्तक्षेप बढेको भन्दै आफ्नो क्षेत्राधिकार सम्झाएको छ।

काउन्सिलले पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता जस्ता गम्भीर सवालमा राज्यका निकायहरूलाई जिम्मेवार बन्न र काउन्सिल क्षेत्राधिकारमा हस्तक्षेप नगर्न आग्रह गरेको हो। 

बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रेस काउन्सिलले भनेको छ, ‘काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपाल राज्यका सम्बद्ध निकायहरूलाई पुनः अनुरोध गर्दछ।’ 

काउन्सिलका सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकपछि  वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता खनाल दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, दफा ५ को उद्देश्य र दफा ७ मा तोकिएको काम, कर्तव्य र अधिकारभित्र रही प्रेस काउन्सिल नेपाल क्रियाशील हुँदै आएको स्पष्ट पारिएको छ। 

दफा ५ मा स्वस्थ पत्रकारिताको विकासको लागि उपर्युक्त वातावरण सिर्जना गर्ने, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, सावर्जनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने र प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने उद्देश्य रहेका काउन्सिलले स्मरण गराएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully