एकीकृत समाजवादी र वामदेव नेतृत्वको एकता अभियानको एकता सभा आज

श्रावण २, २०८२

रासस

Ekta Sabha today of the Ekta Abhiyan led by the United Socialists and Leftists

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकता घोषणा हुँदै छ। शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको एकीकृत समाजवादीका सचिव गणेश विकेले जानकारी दिए।

एकताका लागि दुवै पार्टीका शीर्षनेताले यसअघि नै समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। एकता अभियानको बिहीबार बसेको बैठकले त्यसलाई अनुमोदन गरेको थियो।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो । एकीकृत समाजवादीले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ ।

एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकीकरणको तयारी पूरा भएको छ । एकतासभाको कार्यसूची तथा नेताहरूको वरियताक्रम व्यवस्थापन कार्यसम्पन्न भएको हो । उक्त सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।

रासस

Link copied successfully