सडक सञ्चालन नहुँदा चीनसँगको व्यापार ठप्प मात्र भएको छैन, रसुवाका गोसाइँकुण्डलगायत पालिकामा खाद्यान्न संकटको जोखिमसमेत बढेको छ
काठमाडौँ — भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडकको करिब १ किमि खण्ड बगाउँदा ९ दिनदेखि टिमुरे र रसुवागढीबीच सम्पर्क टुटेको छ । स्याफ्रुबेंसी र रसुवागढी जोड्ने १६ किलोमिटर सडक सञ्चालन नहुँदा चीनसँगको व्यापार ठप्प मात्र भएको छैन, रसुवाका गोसाइँकुण्डलगायत पालिकामा खाद्यान्न संकटको जोखिमसमेत देखिएको छ ।
दुई साताभित्र सडक पुनः सञ्चालनमा नआए गाउँमा खाद्यान्न अभाव हुने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । ‘अहिलेसम्मलाई खाद्यान्नको समस्या छैन,’ उनले भने, ‘अझै दुई साता सडक नखुले टिमुरे, रसुवागढीलगायतका ठाउँमा खाद्यान्न अभाव हुने निश्चित छ ।’
सडक खुलेपछि गाउँमा लैजान भनेर धुन्चे र स्याफ्रुबेंसीमा खाद्यान्न तयारी अवस्थामा राखिएको उनको भनाइ छ । गत असार २४ को बिहान भोटेकोशीमा आएको बाढीले सडक बगाएपछि टिमुरेसँगको सडक सम्पर्क टुटेको हो । बाढीले टिमुरेसम्म पुग्ने दुई खण्डको पूरै सडक बगाएको छ । ठाउँठाउँमा सडक भत्किएको र चिराचिरा परेको छ । टिमुरे नजिकै पहिरोले बगेको सडक भने भित्तो खनेर बनाइसकिएको संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयकाम प्रमुख शुभराज न्यौपानेले बताए ।
‘लिङलिङमा १ सय २० मिटर सडक बिग्रिएको थियो, त्यहाँ भित्तो काटेर ढुंगा निकालिएको छ, ५० मिटर सडक बनाउन अझै बाँकी छ, यसको सिधा भित्तोतर्फ बगेको नदीलाई पनि तर्काइएको छ,’ न्यौपानेले भने, ‘अहिले बाढीले क्षति गरेको सडकमा शुक्रबारबाट साना सवारीसाधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’ लिङलिङ पहिरोमा मात्र काम सकिन बाँकी रहेको उनको भनाइ छ । अहिले गाउँमा अत्यावश्यक सामान लैजान र एम्बुलेन्स सञ्चालन गर्ने गरी सडक बनाइएको हो ।
‘मालवाहक सवारी गुडाउने गरी दोस्रो चरणमा सडकको काम हुन्छ,’ न्यौपानेले भने, ‘त्यसका लागि चीन सरकारसँग पनि कुरा गरेर अघि बढ्छौं ।’ स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको १६ किमि सडकमध्ये स्याफ्रुबेंसीबाट ३ र टिमुरेबाट रसुवागढीसम्मको ४ किमि सडक खुला छ । त्यसमा ९ किमि सडकमा समस्या भए पनि बनाइसकिएको सडक विभागले जनाएको छ ।
आयात–निर्यात ठप्प भएकाले अहिले भन्सार नाका सुनसान रहेको रसुवा भन्सार कार्यालयका नायव सुब्बा चण्डीराज गेलालले बताए । प्रारम्भिक रिपोर्टअनुसार बाढीले २० वटा मालवाहक सवारी बगाएको छ । ‘अझै पूर्ण क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘त्यस्तै सीजी मोटर्सका ४२ वटा विद्युतीय गाडीमध्ये ३२ वटा बगाएको छ, १० वटा बाढीले पुरेर पूर्ण क्षति भएका छन् ।’ भन्सार यार्डमा पसेको बाढीमा फसेका स्याउसहितका मालवाहक सवारीबाट अझै सामान निकालिएको छैन ।
‘स्याउ निकालेर कहाँ लग्ने, त्यसैले अहिलेसम्म निकालिएको छैन, त्यस्ता गाडी चारवटा छन्,’ गेलालले भने, ‘चीनबाट स्याउ लिएर आउँदै गरेका १२ वटा सवारी केरुङतिरै रोकिएका छन् ।’ ती सवारीसाधन पुलनजिकै खोलाको मुखमा रहेकाले बाढीमा डुबेको उनको भनाइ छ । जहाँ तयारी सामान लिएर आएका अन्य सवारीसाधन पनि छन् ।
‘चीनबाट ल्याएर भन्सार जाँचपास भएका र हुने क्रममा रहेका करिब २ सयवटा विद्युतीय सवारीसाधन टिमुरेदेखि रसुवागढी पुग्ने बाटोमा पार्किङ गरेर राखिएको छ,’ गेलालले भने, ‘५० वटा मालवाहक सवारी भन्सार जाँचपासको प्रक्रियामा छन् ।’ तयारी र हाइड्रोका सामान बोकेका खुला ट्रक पनि रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चीनतर्फ सामान लिन हिँडेका ३५ वटा मालवाहक सवारी पनि टिमुरेमै रोकिएका छन् । रसुवा नाकाबाट दैनिक एक सय मालवाहक सवारी ओहोरदोहोर गर्छन् ।
आर्थिक वर्ष २०८१/८२ मा रसुवा भन्सारले ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । भन्सार कार्यालयले सोमबारसम्म २९ अर्ब ८६ करोड राजस्व संकलन गरिसकेको थियो । ‘लक्ष्य भेट्न १४ करोड रुपैयाँ राजस्व संकलन गर्न बाँकी थियो,’ गेलालले भने, ‘पूरै अवधि नाका चलेको भए लक्ष्य हासिल गर्न सकिन्थ्यो ।’
बेइजिङको जवाफ कुर्दै सरकार
बाढीले बगाएको नेपाल–चीन जोड्ने मितेरी पुल पुनर्निर्माणका लागि सरकारले बेइजिङको जवाफ कुरिरहेको छ । पुल पुनर्निर्माणका लागि सरकारले चिनियाँ पक्षसँग धारणा मागे पनि बेइजिङले जवाफ भने पठाएको छैन । दुई देश जोड्ने भएकाले यसको पुनर्निर्माणका लागि दुई पक्षको सहमति आवश्यक पर्छ ।
मितेरी पुल निर्माण गर्नेबारे चीनबाट जवाफ आइनसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पुष्टि गरे । ‘मितेरी पुल भएकाले चीनको सहमतिबिना हामीले बनाउन पाइँदैन, हाम्रो सहमतिबिना चीनले पनि बनाउन पाउन्न,’ शर्माले भने, ‘पहिला पनि चीनले नै बनाएको भएकाले अहिले पनि उसैले बनाउने हो ।’ पुल बनाउनेबारे चिनियाँ दूतावाससँग छलफल भने भइरहेको उनको भनाइ छ ।
‘यस विषयमा चिनियाँ राजदूत छन सोङलाई भेट्ने तयारीमा छौं, राजदूतले पनि चीनबाट आउने निर्णय कुरिरहेको जानकारी दिनुभएको छ,’ उनले भने, ‘पुलका कारण आयात–निर्यात रोकिएको छ, दसैंसम्म कसरी पुल बनाउन सकिन्छ भनेर प्रयासरत छौं ।’ रसुवागढीबाट केरुङतर्फ जाने २५ किमि सडकमा बाढीले क्षति गरेको छ ।
‘बाढीले पुल बगाएपछि न चीनबाट मालवाहक गाडी आउन पाएका छन् न नेपालबाट सामान लिन जान पाइएको छ,’ रसुवा भन्सार कार्यालयका नायव सुब्बा चण्डीराज गेलालले भने, ‘पहिला भीडभाड हुने भन्सार नाका अहिले सुनसान छ ।’ पुग बगेपछि रसुवागढी नाका सुनसान छ । अहिले पुल निर्माणको सुरसार छैन ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी आएको दिन नै दुई देश जोड्ने पुल छिटो बनाउन मित्र राष्ट्र चीनसँग पहल गर्ने बताउनु भएको थियो,’ गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने, ‘चाडबाड नजिकिँदै छन्, त्यसका लागि चीन हुँदै तयारी सामान नेपाल आउँछ, नेपालबाट पनि सामान चीन निर्यात हुन्छ ।’ समयमै पुल बनाउन नसके रसुवावासीलाई असर गर्ने उनको तर्क छ ।
‘पुल नभएर नाका ठप्प भइरहे रसुवा भन्सार नाकामा राजस्व पनि उठ्दैन, स्थानीयहरूको रोजगारी पनि गुम्छ,’ तामाङले भने, ‘त्यसैले सक्दो छिटो ल्हेन्दे खोलामा अस्थायी बेलिब्रिज राखेर भए पनि सामान आयात–निर्यात गर्ने वातावरण बनाउनुपर्छ ।’ ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै दुई देशबीचको व्यापारिक सम्बन्ध टुटेको हो ।
