विपद्‌बाट वैशाखयता ९३ जनाको ज्यान गयो, चट्याङबाट मृत्यु र घाइते हुने धेरै

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Since May, 93 people have been killed by the disaster, many more killed and injured by lightning

काठमाडौँ — वैशाखयता तीन महिनामा प्राकृतिक विपद्‌का कारण ९३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी चट्याङका घटनाका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाखदेखि असार ३२ सम्मको घटना विवरण सार्वजनिक गरेको हो ।

विपद्‌बाट मृत्यु हुनेमा चट्याङबाट २६ जना, आगलागीबाट १४, बाढीबाट १३, जनावरको आक्रमणबाट १२, लेक लागेर ११, हावाहुरीबाट ८, पहिरोबाट ६, सर्पदंशबाट २ र भारी वर्षाबाट १ जना रहेका छन् । बाढीबाट बेपत्ता हुनेको संख्या २२ छ ।

यस्तै, चट्याङबाट सबैभन्दा बढी १६१ जना घाइते भएका छन् । आगलागीबाट १३४, जनावरको आक्रमणबाट ४६, हावाहुरीबाट ३९, लेक लागेर २६, सर्पदंशबाट २२, पहिरोबाट ७, बाढीबाट ६, वनडढेलोबाट २, असिना हुरी र डुंगा पल्टेर लाग्दा १/१ जना घाइते भएको प्राधिकरणले जनाएको छ । 

यी घटनामा सबैभन्दा बढी बाढीका कारण १ हजार २ सय ४६ परिवार प्रभावित भएका छन् । विपद्को समग्र तथ्यांक हेर्दा चट्याङले धेरै मानवीय क्षति गरेको छ । यो तीन महिनामा चट्याङबाट मात्रै २६ जनाले ज्यान गुमाउनुका साथै १६१ जना घाइते भएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully