What you should know
काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले घूस प्रकरणमा सार्वजनिक अडियोबारे छानबिन गर्न आफू तयार रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले उक्त प्रकरणमा आफू संलग्न नरहेको दाबी गरेका हुन् ।
मन्त्री अधिकारीले भने, 'मैले अस्ति पनि भनिसक्या छु । म सलंग्नै छैन, चिनेकै छैन बोलेकै छैन । कुरा गरेकै छैन । त्यसमा कसैले केही आरोप लगाएर हुन्छ । भोलि गएर कसैले फलानालाई यसो गरिदिएँ भन्दा अर्कालाई यसो गरिदिएँ भन्दा अनि त्यसैलाई पत्याएर हिँडेर हुन्छ ? त्यस्तो भएपछि यहाँ को रहिरहन सक्छ ।' साथै उनले मन्त्री पद सधैंका लागि नरहेको पनि बताए । १ वर्षमा मन्त्रिपरिषद् पुनर्गठन हुने भएकै निश्चित रहेको उनले बताए ।
पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको उक्त अडियोमा एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी गरिएको छ । अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ ।
बिचौलिया लामाले विभिन्न व्यक्तिसँग गरेको संवादको अडियोमा तत्कालीन सचिव पोखरेलले पाँच लाख घूस बुझेको उल्लेख गरिएको छ । घूस बुझेका भनिएका व्यक्तिहरूको आवाज भने अडियोमा सुनिँदैन । अडियोमा बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेललगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको पनि बताएका छन् ।
अडियोमा मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको भनाइ सुनिन्छ । लामाले अडियोमा भनेको सुनिन्छ , ‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि गर्यो, हो भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ । ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला ।’
यसै प्रकरणमा मुछिएका राजकुमार गुप्ताले सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिइसकेका छन् । उनको स्थानमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने मन्त्रीको पदभार ग्रहण गरिसकेकी छिन् ।
