यो वर्ष मात्रै यार्चा टिप्न कर्णालीका पाटन गएका ५ जनाले ज्यान गुमाए, ३ वर्षमा २६ को मृत्यु
सुर्खेत — डोल्पाको काइके गाउँपालिकास्थित नावरपानी पाटनमा जेठ दोस्रो साता यार्चागुम्बु संकलन गर्न गएका जाजरकोटको नलगाड–८ का १९ वर्षीय धनलाल विकको लेक लागेर मृत्यु भयो । उनी ४ दिन हिँडेर बाबु हरिबहादुरसँग यार्चा टिप्न पाटन पुगेका थिए ।
‘पाटनमा गएको दिनदेखि नै ऊ बिरामी पर्यो, यार्चा टिप्नै पाइएन,’ हरिबहादुरले भने, ‘भूकम्पले घर भत्किएपछि टहरामा गुजारा चलाइरहेका छौं, बारीको उत्पादनले ३ महिना पनि खान पुग्दैन, रोजीरोटीमा मद्दत हुन्छ कि भनेर यार्चा टिप्न गएको, यार्चा टिपियो न छोरो फर्कियो ।’
१७ कात्तिक २०८० को जाजरकोट भूकम्प अघिसम्म उनी छोरासहित रोजगारीका लागि भारत जाने गरेका थिए । ‘भूकम्पपछि सबै कुरा बिग्रियो, उताको रोजगारी छुट्यो यता छोरा नै रहेन,’ उनले भने, ‘छोराको काजकिरिया पनि अटेसमटेस गरेर चुहिने टहरामा गर्नुपर्यो ।’
जुम्लाको गुठीचौर–१ मनिगाउँका ३४ वर्षीय भीमबहादुर बोहराको पनि ७ जेठमा डोल्पाकै जगदुल्ला पाटनमा लेक लागेर मृत्यु भयो । बोहरालाई लेक लागेपछि घरतिर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो । गाउँमै खेतीकिसानी गर्ने उनी झन्डै एक दशकदेखि यार्चा टिप्न पाटन जाने गरेका थिए ।
‘पाटनबाट ल्याएको रकमले घर खर्च चल्थ्यो,’ पत्नी कमला बोहराले भनिन्, ‘घरमूलीको मृत्यु भएपछि जीविकोपार्जनको समस्या भएको छ, खेतबारीको उत्पादनले पुग्दैन, छोराछोरीको पालनपोषणमै समस्या भयो ।’ भीमबहादुरका एक छोरा र दुई छोरी छन् ।
८ जेठमा जुम्लाकै तातोपानी गाउँपालिका–८ टोप्लागाउँकी २७ वर्षीय कल्पना शाहीको यार्चा टिप्न सुब्बाकुना पाटनमा गएका बेला चट्याङ लागेर मृत्यु भयो । पाटनमा यार्चा खोजिरहेकै अवस्थामा उनलाई चट्याङ लागेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यो वर्ष मात्र यार्चा टिप्न गएका ५ जनाको ज्यान गएको छ । त्यस्तै डोल्पामा ३, मुगुमा १ र जुम्लामा १ जनाको ज्यान गएको छ । यो वर्ष १० महिला र १९ पुरुष गरी २९ जना घाइते भएका छन् । बिरामी अवस्थाका १३ जनालाई प्रहरीले उद्धार गरेको थियो ।
गएको ३ वर्षमा यार्चा संकलनका लागि विभिन्न पाटन पुगेका २६ जनाको ज्यान गएको कार्यालयले जनाएको छ । त्यस्तै ८२ जनाको उद्धार गरिएको कार्यालयको तथ्यांक छ । कठिन भूगोल, अत्यधिक हिमपात, असावधानी, मौसम अनुकूल नहुनुलगायत कारण यार्चा संकलकहरूको ज्यान जोखिममा पर्ने गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले बताए ।
यस वर्ष डोल्पामा ५ जेठ र मुगुमा १३ जेठदेखि यार्चा टिप्नका लागि खुला गरिएको थियो । तर यार्चा कम पाइएपछि संकलकहरू दुई/तीन सातामै पाटनबाट फर्किएको वन डिभिजन कार्यालय मुगुकी वन अधिकृत वसन्ती बुढाले बताइन् । ‘यार्चा पनि कम उत्पादन भयो, संकलकले पनि खासै भाउ पाएनन्,’ उनले भनिन्, ‘त्यसैले पोहरसम्म कम्तीमा डेढ महिना पाटन बस्ने संकलक यसपालि ३ सातामै घर फर्किए ।’
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ सय ९ किलो यार्चा उत्पादन भएको थियो । गत वर्ष २ सय ४ किलो यार्चा उत्पादन भएकामा यो वर्ष करिब १ सय १० किलो यार्चा मात्र संकलन भएको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी सूर्य शर्माले जानकारी दिए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले यार्चाको उत्पादन घट्दै गएपछि यार्चा संरक्षणका लागि गुरुयोजना निर्माणको काम भइरहेको बताए ।
‘प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन र कर्णालीको समृद्धिका लागि पनि यहाँको जडीबुटीको संरक्षण र बजारीकरण आवश्यक छ,’ उनले भने, ‘जडीबुटी र पर्यटनको माध्यमबाट रोजगारीको सिर्जना, आर्थिक वृद्धि र समग्र प्रादेशिक आर्थिक विकास र समुन्नतिका लागि आवश्यक पहल भइरहेका छन् ।’
बर्सेनि यार्चा उत्पादन घट्दै जाँदा घर खर्च चलाउनै मुस्किल हुन थालेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१ का पूर्णबहादुर देवकोटाले बताए । झन्डै १५ वर्षदेखि यार्चा टिपेर वर्षभरिको परिवार खर्चको जोहो गर्दै आएका उनी यो वर्ष करिब ५० हजार लगानी गरेर पत्नी जानकीसहित पाटन पुगेका थिए । तर उनले मुस्किलले १ लाख २० हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेको बताए ।
‘२३ दिन बस्दा पनि डेढ सय गोटाभन्दा बढी यार्चा बनाउन सकिएन, पोहरसम्म प्रतिगोटा हजारमा बिक्री हुने यार्चाको मूल्य यसपालि ८ सयभन्दा बढी गएन,’ उनले भने, ‘त्यहाँ जाँदा–आउँदाको दुःख हेर्ने हो भने सामान्य खर्च पनि उठ्दैन, अनकन्टार ठाउँमा ठूलाठूला भीरपहरा छिचोलेर जानुपर्छ, लेक लागेर र कडा चट्टानयुक्त भीरबाट खसेर ज्यानै जोखिममा पर्छ तर दुःख उठे पनि नउठे पनि अरू व्यवसाय नहुँदा पाटन जानुको विकल्प छैन ।’
२०५२ सालदेखि हरेक वर्ष यार्चा टिप्न गइरहेका डोल्पाको त्रिपुरासुन्दरी–४ का ओमबहादुर बुढाले यार्चाको उत्पादन घट्दा आफूहरूलाई जीविकोपार्जनमा सास्ती भएको बताए । ‘त्यहाँ जाँदा–आउँदाको दुःखको त कुरै नगरौं, पाटन पुग्दा लेक लाग्ने, भीरबाट खस्ने र बिरामी हुनेलगायत जोखिम मोलेर ज्यानकै बाजी थापेर भीरपहारामा रातारात हिँड्नुपर्छ,’ उनले भने, ‘योपालि पनि पानी कम पर्दा यार्चा नै कम उत्पादन भयो, हामीले प्रतिगोटा ८ सय रुपैयाँभन्दा बढी भाउ नै पाएनौं ।’
बर्सेनि यार्चाको उत्पादन घट्दै जाँदा स्थानीयले सोचेजस्तो आम्दानी गर्न नसकेको डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले बताए । ‘परम्परागत खेतीकिसानी र पशुपालनमा निर्भर स्थानीयको रोजीरोटीको प्रमुख माध्यम यार्चा संकलन नै हो,’ उनले भने, ‘तर पाटन जाँदाको दुःख नउठ्ने समस्याले स्थानीय निराश छन् ।’
यो वर्ष झन्डै १० हजार जनाले शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका पाटनहरूमा यार्चा टिपेका थिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार संकलकबाट १ करोड ९३ लाख राजस्व संकलन गरिएको छ ।
निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दासँग ५ सय, डोल्पाभित्रका स्थानीयसँग २ हजार र जिल्ला बाहिरका संकलकसँग ३ हजार रुपैयाँ प्रवेश शुल्क लिएको थियो । संकलकहरूका लागि ९ वटा पोस्टमार्फत प्रवेश दिइएको थियो । डोल्पामा रूपपाटन, चिनाराङ्सी, माझडाँडा, तुरी, बगर, माझधारी, बाटुलीले, काँडा, फुर्के, ज्ञाने, जैरी, साइकुमारीलगायत पाटनमा यार्चा पाइन्छ ।
मुगुको मुगमकार्मारोङ गाउँपालिकाले यो वर्ष ३६ लाख राजस्व संकलन गरेको छ । जिल्लाभित्रकाबाट १ हजार ५ सय र बाहिरका संकलकबाट २ हजार प्रतिव्यक्ति प्रवेश शुल्क संकलन गरिएको गाउँपालिकाका सूचना अधिकारी सोवेन्द्र मल्लले बताए । उनका अनुसार पालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा यार्चा पाइन्छ । डिभिजन वन कार्यालय मुगुबाट यो वर्ष झन्डै २६ किलो यार्चागुम्बुको छोडपुर्जी जारी भएको छ ।
छोडपुर्जीका लागि प्रतिकिलो ३१ हजार रुपैयाँ राजस्व तोकिएको छ । वन अधिकृत वसन्ती बुढाका अनुसार अहिलेसम्म १० जना व्यापारीले मात्र छोडपुर्जी लिएका छन् । भाउ नपाएपछि अधिकांश संकलकले यार्चा बिक्री नगरेको उनले बताइन् ।
‘गत वर्षसम्म प्रतिगोटा एक हजार रुपैयाँसम्ममा पाटनमा यार्चा किनबेच भएको थियो तर यो वर्ष उत्पादन पनि कम भयो, कम गुणस्तरको यार्चा पाइएकाले व्यापारीले प्रतिगोटा ८ सय रुपैयाँभन्दा बढी दिन नमानेको संकलकको गुनासो छ,’ उनले भनिन्, ‘यहाँको यार्चाको बजार चीन नै हो, ३ वर्षयता चिनियाँ व्यापारीले मूल्य घटाउँदै लगेकाले स्थानीय व्यापारीले पनि जतिसक्दो कम मूल्यमा यार्चा खरिद गरिरहेका छन् ।’
उनका अनुसार गत वर्ष जिल्लामा प्रतिकिलो १९ लाख रुपैयाँ प्रतिकिलो यार्चा बिक्री भएको थियो । मुगु–चीन सीमास्थित हाजियामारमा प्रत्येक वर्ष चीनले हाटबजार लगाउने गरेको छ । त्यही हाटबजारमा स्थानीय व्यापारीले चिनियाँ व्यापारीलाई यार्चा बिक्री गर्ने गरेका छन् ।
पाटनमा यो वर्ष ५ सयदेखि ८ सय रुपैयाँमा यार्चा खरिद गर्ने गरेको जडीबुटी व्यवसायी यज्ञबहादुर बुढथापाले बताए । यसपालि कम गुणस्तरको यार्चा पाइएकाले र चिनियाँ व्यापारीले खासै भाउ नदिने जानकारी आएपछि कम मूल्यमा यार्चा किनबेच भएको हो । ‘यहाँको ९० प्रतिशत यार्चाको बजार चीन नै हो, हामीले खरिद गरेको यार्चा चिनियाँ व्यापारी नआउँदासम्म गोदाममै थन्क्याउनुपर्छ,’ उनले भने, ‘उनीहरू आएपछि दर निर्धारण गरे मात्र हाम्रो यार्चा बिक्ने हो, हामीले पनि रिस्कमै किन्ने भएकाले प्रतिगोटा आठ सयभन्दा बढी मूल्य दिन नसकेका हौं ।’
डोल्पाको छार्काताङसोङका व्यापारी परबल लामाले पछिल्लो समय चिनियाँ व्यापारीले जतिसक्दो भाउ घटाउने गरेकाले समस्या भएको बताए । उनका अनुसार कोरोनाअघि प्रतिकिलो ३२ लाखसम्म बिक्री भएको यार्चा गत वर्ष मुस्किलले २२ लाखसम्म बिकेको थियो । उनले एक किलो यार्चामा ३ हजारदेखि ३ हजार ५ सय गोटा यार्चा चढ्ने बताए ।
कोरोना महामारीका कारण लगातार ३ वर्ष यार्चा नटिप्दा पनि त्यसको असर प्रजनन प्रक्रियामा परेको वनस्पतिविद् कमल शर्माले बताए । ‘उत्पादन त बर्सेनि घट्दै गएकै छ, त्यसमा पनि संकलक र व्यापारीहरू बजारको समस्या पनि भोग्न बाध्य छन्,’ उनले भने, ‘अनुकूल वर्षा नहुनु, मानवीय गतिविधि बढ्नु, वन विनाश, जलवायु परिवर्तनको प्रभाव, आगलागीलगायत कारण जडीबुटीको उत्पादन घट्दै गएको छ ।’
खेतीयोग्य जमिनको कमी, भएको जमिनमा सिँचाइको अभाव, अन्य पेसा नहुनु, कुनै पनि आम्दानीका स्रोत नहुनुजस्ता बाध्यताले पहाडी र हिमाली क्षेत्रका बासिन्दा बर्सेनि जोखिम मोलेर यार्चा खोज्न पाटन जाने गरेको उनको भनाइ छ ।
