आज देश दुनियाँमा के–के भयो ? 

असार ३२, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — जसपाले लियो सरकारलाई‍ दिएको समर्थन फिर्ता, मधेशमा खानेपानीको हाहाकारपछि दमकलबाट बस्ती–बस्तीमा बाँडिँदै, त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना, २० वटै वाणिज्य बैंकले घटाए निक्षेपको ब्याज, ऋणको पनि घट्योदेखि ९९ जनाको मृत्युपछि सिरियाको स्वेइडामा युद्धविराम घोषणासम्मका खबर आज चर्चामा रहे । 

००००

प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले फिर्ता लिएको छ । जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिए ।  

००००

खडेरीसँगै मधेशमा चर्किएको खानेपानीको अभाव टार्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वारुणयन्त्र परिचालन गरेका छन्। मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । 

००००

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ । 

००००

साउन महिनाका लागि सबै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले बुधबार प्रकाशित गरेको ब्याजदर सूचीअनुसार साउनका लागि २० वटा वाणिज्य बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने १५ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । तर, चार वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर घटाए पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छैनन् ।  

००००

सिरियाली रक्षा अधिकारीहरूले मंगलबार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् । रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि यस्तो घोषणा गरिएको बताएका हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully