काठमाडौँ — अखिल नेपाल महिला संघ (समाजवादी) ले छाउपडीलगायतका अन्य कुरीतिविरुद्ध प्रभावकारी कानुन बनाउन माग गरेको छ । संघकी अध्यक्ष मुनु सिग्देलले विज्ञप्ति जारी गर्दै समाजमा विद्यमान कुप्रथाविरुद्ध प्रभावकारी कानुन बनाउन सरकारसँग माग गरेकी हुन् ।
कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी ३० वर्षीया कमला आउजीको छाउगोठमा सर्पको डसाइबाट मृत्यु भएको घटनालाई उल्लेख गर्दै स्थायी रूपमा त्यस्ता घटना रोक्न प्रभावकारी कानुन बनाउन संघले माग गरेको हो ।
कानुनले नै छाउपडी प्रथालाई गैरकानुनी ठहर गरिसकेको अवस्थामा यस्ता घटना दोहोरिनु दु:खद रहेको संघको भनाइ छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरका रूपमा लिएको छ ।
