१० वर्षअघि तुइन विस्थापन गर्ने सरकारको घोषणा, बर्सेनि ज्यान गुमाइरहेछन् नागरिक

असार ३१, २०८२

मनोज बडू

10 years ago, the government's announcement to relocate Tuin, citizens are losing their lives every year

दार्चुला — उपभोग्य वस्तु किनमेलका लागि हिँडेका व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउँसो किनमेलका लागि भारतीय बजार हिँडेका नारायणसिंह तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएको व्यास-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

भारतपट्टि तुइन बाँधिएको ठेसो (खम्बा) भाँचिदा नारायणसिंह तरिरहेको तुइन महाकालीमा खसेको हो । उनीसँगै रहेका अन्य दुई जनामध्ये एक जना पारि (भारत) तरिसकेको र एक जना वारि (नेपालतर्फ) रहेको धिरनसिंहले बताए ।

सरकारले तुइन विस्थापन गर्ने भनेर पटक-पटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ । २०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । अहिले पनि ओली नै प्रधानमन्त्री छन् । २०७२ मै २ वर्षभित्र तुइन विस्थापन गर्ने भनेको सरकारले यस वर्ष पनि नीति तथा कार्यक्रममा उही कुरा दोहोर्‍याएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेत सम्पूर्ण तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा छ ।

दार्चुलामा सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा महाकाली तर्न अझै आधा दर्जन तुइन राखिएका छन् । व्यास गाउँपालिका–२ र ५ का बासिन्दालाई अझै किनमेलदेखि औषधि उपचार तथा आफ्नै जिल्ला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरेर भारतको बाटो हिँड्नु पर्ने बाध्यता छ । डोरी वा फलामको सामान्य तारलाई वारिपारि रुख, ढुंगा वा खाँबोमा अड्काएर महाकाली तर्दा दुर्घटना हुने गरेको हो ।

10 years ago, the government's announcement to relocate Tuin, citizens are losing their lives every year

मंगलबार व्यास-२ दुम्लिङस्थित महाकाली नदीमा लगाइएको तुइनबाट खसेर बेपत्ता भएका नारायणसिंह बुढाथोकी ।

जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले दुम्लिङ (नेपाल)बाट भारततर्फ जाँदा डोरी चुँडेर नारायणसिंह महाकाली नदीमा खसेको बताए । उनले नेपालतर्फ दुम्लिङ र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको बताए । सँगै तुइन तर्न गएका अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनबाट महाकालीपारि जान नारायणसँगै गएका थिए । जितुले महाकाली पार गरी सकेपछि नारायणसिंहले तर्न थालेका थिए । उनी नदीको बीच भागमा पुग्दा तुइन बाँधेको खाँबो भाँचिदा नदीमा खसेर बेपत्ता भएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दुम्लिङभन्दा तल्लो क्षेत्रमा खोजी गरिरहेका छन् ।

वडाध्यक्ष बुढाथोकीका अनुसार गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए । नारायण बेपत्ता भएको र सुन्दरसिंह खसेको तुइन फरक–फरक रहेको उनले बताए । ‘अघिल्लो वर्ष दुम्लिङ क्षेत्रकै १८ वर्षीय सचिन बुढाथोकी पनि महाकालीमा बेपत्ता भएका थिए । यी तीनै जना फरक–फरक तुइनबाट खसेका हुन्’, वडाध्यक्ष बुढाथोकीले भने, ‘प्रत्येक वर्ष तुइनबाट खसेर यहाँका कोही न कोही महाकालीमा खसेकै हुन्छन् ।’

दुम्लिङमा मात्रै स्थानीयले तीन ठाउँमा तुइन लगाएर महाकाली वारपार गर्छन् । स्थानीयले सरकारलाई दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि कैयौंपटक आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको वडाध्यक्ष बुढाथाकीले बताए । महाकालीमा आधा दर्जन ठाउँमा झोलुंगे पुल निर्माणका लागि अनुरोध गरिए पनि सरकारले माग सम्बोधन नगरेको स्थानीयको गुनासो छ । सबैभन्दा बढी दुम्लिङका बासिन्दालाई पुलको खाँचो रहेको वडाध्यक्ष बुढाथोकीले बताए ।

दार्चुला सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा नेपाल–भारत जोड्न व्यास गाउँपालिकाको ५ ठाउँमा महाकालीमाथि पुल हालिएको छ । सबैभन्दा माथिल्लो क्षेत्र सीतापुलमा पुरानो काठे पुल छ भने अन्य ४ ठाउँ नयाँ झोलुंगे पुल निर्माण भएका छन् । मंगलबार दुर्घटना भएको स्थान तल्लो दुम्लिङबाट नजिकको वडा नम्बर २ कै माल्घाटस्थित झोलुंगे पुल पुग्न दुई घण्टा लाग्छ । अर्को झोलुंगे पुल वडा नम्बर ४ को मल्घट्टेमा छ ।

वडा नम्बर ५ को तिगरम, वडा नम्बर ६ को बडूगाउँमा पनि झोलुंगे पुल छन् । पुलबाट वारपार गर्न आफ्नो बस्ती भन्दा टाढा र पुलसम्म पुग्ने बाटो समेत सहज नहुँदा वारिपारिका स्थानीयले मिलेर पायक पर्ने ठाउँमा अस्थायी तुइन राख्ने गरेका छन् । यस्ता अवैध तुइनबाट हरेक वर्ष एक/दुई जना महाकालीमा बेपत्ता हुँदै आएका छन् । २०७८ सालमा जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भए । त्यसको अघिल्लो वर्ष व्यास–४ डोकटका १० वर्षीय दिपेन्द्र बिष्ट बेपत्ता भएका थिए । यातायातको पहुँच नभएको यो क्षेत्र जान नेपालपट्टि पैदल बाटोसमेत छैन । स्थानीयले आफ्नै जिल्ला सदरमुकाम आउन पनि भारतको बाटो प्रयोग गर्दै आएका छन् ।

अहिले पनि व्यास–२ दुम्लिङ र बुदी तथा वडा नम्बर-५ धौलाकोटका बासिन्दा तुइनमार्फत महाकाली वारपार गर्छन् । भौगोलिक विकटता र झोलुंगे पुल नहुँदा स्थानीयले महाकाली वारपार गर्न तुइनकै भर पर्दै आइरहेका छन् । सदरमुकाम आउने पैदल बाटोसमेत गतिलो नभएका कारण यो क्षेत्रका बासिन्दाले उपभोग्य वस्तु किनमेल, औषधि उपचारलगायत आधारभूत कामका लागि तुइनमार्फत भारतीय बाटो धाउनुपरेको गुनासो गर्छन् ।

‘हाम्रो बस्तीबाट झोलुंगे पुल प्रयोग गर्न कम्तीमा दुई घण्टा हिँड्नुपर्छ,’ व्यास-२ दुम्लिङका प्रभाकर बुढाथोकीले भने, ‘पुलबाट जान माथि हिँड्नु पर्ने भएकाले उल्टो बाटो मानेर तुइनबाट सजिलो मान्छौं । नजिक झोलुंगे पुल बनाइदिन माग गरे पनि सुनुवाइ भएन ।’

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully