काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा उदासीन रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै दाहालले सरकार गठनदेखि नै अघिल्लो सरकारले अघि बढाएका जनमुखी कार्यक्रमहरूमाथि हस्तक्षेप गरिएको र अनुसन्धानका फाइलहरू बन्द गरिने क्रम बढेको बताएका हुन् ।
'मैले त्यतिबेलै भनेको थिएँ, यो सरकार सुशासनको डरले बनेको हो भनेर । सुशासनसँगको त्यो डर आजपर्यन्त कायमै छ । त्यही डरले दुई ठूला दल मिलायो, अनि अहिले त्यही डरले सरकारले हाकाहाकी भ्रष्टाचारीहरूलाई जोगाउँदै छ,' उनले भने ।
सरकार गठन भएदेखि नै अघिल्लो सरकारले अघि बढाएका भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई कमजोर तुल्याउने र रोक्ने काम भएको दाहालको भनाइ छ । 'भ्रष्टाचारका फाइलहरू बन्द गरिँदैछ। भ्रष्टाचार झन मौलाउँदै गएको छ । सम्पत्ति शुद्धिकरणको क्रियाकलाप बढ्दै गएका छन्। अनि देश कसरी आउँछ ग्रे लिस्टबाट बाहिर ?,' उनले भने ।
