काठमाडौँ — संसद्मा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको आरोप लगाएका छन् ।
'तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ,' उनले भने, 'अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।'
उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलजस्ता घटनाको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इसारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने, 'सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।'
