राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रमको बजेट फ्रिज गरेकोप्रति आपत्ति
काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभामा उनले आफू नेतृत्वको सरकारले बजेट ल्याउन बनाएको विधि वर्तमान सरकारले भत्काएको बताएका हुन् ।
'कर्मकाण्डबाट मुक्त गर्न नयाँ क्यालेन्डरसहित लोकतान्त्रिक विधि लागू गरिएको थियो, जसले जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्थ्यो। तर, अहिले त्यो विधि भत्काइयो, बजेट निर्माण प्रक्रिया नै एक समूह विशेषको सेटिङमा सीमित बनाइयो,' अध्यक्ष दाहालले भने ।
बजेटका नाममा जनताको सपना होइन, स्वार्थ समूहको सौदाबाजी भएको दाहालको दाबी छ, 'जब बजेट नै सहभागिताहीन, जब नीतिगत निर्णय नै प्रतिशोधको आधारमा लिइन्छ, तब जनता के अपेक्षा गर्ने ।'
साथै उनले दलित समुदायमाथि बजेटमै छुवाछुत गरिएको गम्भीर आरोप लगाए, 'अधिकारसम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरियो। समाजमा मात्र होइन, तपाईंहरूको बजेटमै दलितमाथि विभेद देखिन्छ।'
आत्मनिर्भर अर्थतन्त्रका दृष्टिले महत्त्वपूर्ण मानिएका 'घरेलु मदिराको व्यवस्थापन र ब्रान्डिङ', 'औषधीय प्रयोजनका लागि गांजा खेती' जस्ता कार्यक्रमहरूप्रति सरकारले चासो नदेखाएको भन्दै उनले गम्भीर असन्तोष प्रकट गरे ।
युवा रोजगारी र राष्ट्र निर्माणप्रति सरकारको उदासीनता देखाउँदै उनले भने, 'मेरो सरकारको पालामा ‘राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम’ अन्तर्गत एक लाख युवा परिचालन गर्न ३ अर्ब बजेट विनियोजन गरिएको थियो, तर तपाईंहरूले त्यो बजेट नै फ्रिज गर्नुभयो।'
