'घूस' संवादबारे भूमिमन्त्री भन्छन् : 'जुन औँलामा विष लाग्छ त्यै झर्छ'

'मैले त्यस विषयमा यहाँ सुनेको आधारमा के गर्नुपर्छ मैले सार्वजनिक गर्नुपर्ने महसुस भयो भने सार्वजनिक गर्नेछु'

असार ३०, २०८२

जयसिंह महरा

Land Minister says about 'Bribery' dialogue: 'Poison falls on the finger'

काठमाडौँ — सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवाको सम्बन्धमा घूस संवादमा नाम लिइएका भूमिमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभामा जवाफ दिएका छन् ।

मन्त्री अधिकारीले आफ्नो नाम लिइएको तर त्यसमा आफू र मातहतका कोही पनि नजोडिएको प्रष्टिकरण दिएका हुन् ।  माओवादी सांसद माधवप्रसाद सापकोटाले घूस संवादको अडियोबारे प्रश्न गरेका थिए । सापकोटाले मन्त्री अधिकारीलाई सोधेका थिए, 'सामान्य प्रशासनमन्त्रीको अडियो आएको छ । त्यो अडियोमा केही विषयका साथ तपाईंलाई समेत संगीन आरोप लगाएका छन् । तपाईंले भनेकै जस्तो संलग्नता होइन भने आजका दिनसम्म किन खण्डन गर्नु भएन  र अझै चित्त बुझ्दो जवाफ किन आएन ?

जवाफमा मन्त्री अधिकारीले कास्की जिल्ला वा अन्य जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्ष चयनमा कुनै अनियमितता नभएको दाबी गरे । 'हाम्रो मन्त्रालय र मसँग जोडिएर के‍ही कुराहरू आएको, अध्यक्ष चयन गर्ने सन्दर्भमा कतै मन्त्री पनि जोडिएका छन् कि भन्ने प्रसंगमा आयोग या आयोगका कुनै सदस्यहरू बनाउने सन्दर्भमा ममात्र होइन मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार र डिल गरेको छ भने यथार्थता ल्याइदिनुस् कानुनी बारबाही भोग्न तयार छौ,' मन्त्री अधिकारीले भने, 'अनावश्यक रूपमा हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने यहाहरू लाई नलाग्न अनुरोध गर्न चाहन्छु ।'

कसैले गरेको कुराका आधारमा प्रश्न नगर्न पनि मन्त्री अधिकारीको भनाइ थियो । उनले कसैले गरेका कुराका आधारमा आफूलाई नमुछ्न अनुरोध गरेका थिए । उनले भने, 'जुन औँलामा विष लाग्छ त्यै औँलो झर्छ, यहाँहरूले त्यो कुरालाई बुझ्नुहुनेछ ।'

मन्त्री अधिकारीले घूस प्रकरणमा आफूले सुन्नमा आएका कुरा सार्वजनिक गर्ने पनि बताए । 'सुनेको आधारमा के गर्नुपर्छ, मैले सार्वजनिक गर्नुपर्ने मलाई महसुस भयो भने म सार्वजनिक गर्नेछु । अहिलेलाई के भन्न चाहे भने तथ्यको आधारमा अगाडि बढिदिनुस्,' उनले भने । कसैलाई नियुक्ति गर्नका लागि कसैलाई इच्छा भएको हुनसक्ने भन्दै अडियोमा आफूले भनेको मान्दैन भन्ने कुरामा पनि ध्यान दिनपर्ने अधिकारीको भनाइ थियो ।

'कसैको इच्छा होला ल न यो बनाइदे भन्यो, सम्बन्धित व्यक्तिहरूले जान्ने कुराहरू हो । त्यहाँ तपाईंहरूले यो कुरा त भन्नु भएन कि मन्त्रीले सुन्दैन, यो कुरा गर्दैन भनेको कुरा त भन्नु भएन । त्यो आएको छ भन्ने पनि सुने । त्यो कुरा त तपाईंहरूले भन्नु भएन । तथ्यको आधारमा बोलिदिनुस्,' उनले सांसदहरूलाई आग्रह गरे । 

मन्त्री गुप्ताले बिचौलियासँग गरेको कुराकानीमा कास्कीको भूमि  समस्या समाधान आयोगको अध्यक्षमा खेम पुनलाई मन्त्री अधिकारीले नियुक्त नगर्ने बताएका छन् । मन्त्री अधिकारीले अर्कैबाट पैसा खाइसकेकाले आफूले भनेको नमान्ने गुप्ताले भनेका छन् । 

सांसद प्रेम सुवालले पनि उक्त प्रसंगमा मन्त्री अधिकारीसँग प्रश्न गरेका थिए । जवाफमा मन्त्री अधिकारीले यथार्थ बुझेर मात्रै प्रश्न गर्न भने । ‍'त्यो नियुक्ति दिने सन्दर्भमा कहीँ कतै कसैले कहीँ कुरा गर्‍यो फलानालाई गर्न पाए हुन्थ्यो, फलानालाई गरिदिए म यस्तो गर्छु भनेर कसैले कुरा गरेको आधारमा भूमि व्यवस्था मन्त्रालय र मन्त्रीलाई जोड्नुभएको छ भने अनुरोध गर्न चाहन्छु यथार्थता बुझेर बोल्ने गरौं,' मन्त्री अधिकारीले भने । 

भूमि व्यवस्था मन्त्री र मन्त्रालयका कुनै व्यक्तिले कुनै आयोगको अध्यक्ष वा सदस्यसँग कुनै डिलिङ गरेको, पैसा लिएको थाहा भए प्रमाणसहित आउन उनले आग्रह गरेका थिए । 'तपाईहरूले थाहा पाउनुभयो भने प्रमाणसहित ल्याउनुस् । म सम्बन्धित व्यक्ति र म आफैं भए पनि कारबाही सहन तयार छु,' उनले भने । 

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully