काठमाडौंले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

एक वडा एक उत्पादन, सहकारी सुधार, सामुदायिक विद्यालयमा ‘स्पोर्ट्स एकेडेमी’, उद्यमशीलता क्लबलगायत कार्यक्रम सञ्चालन गरिने

असार ३०, २०८२

प्रशान्त माली

Kathmandu brought a budget of 25.76 billion

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार सम्पन्न महानगरको १७ ‌औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेकी हुन् । 

महानगरले बजेटमा २५ अर्ब ११ करोड ४३ लाख सञ्चित कोषबाट र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारबाट व्यहोर्ने अनुमान गरेको छ । सञ्चित कोषमा महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी २० अर्ब १२ करोड ६३ लाख व्यवस्थापन हुने अनुमान छ भने संघ र प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबापत ४ अर्ब ९८ करोड ७९ लाख प्राप्त हुने अनुमान गरिएको छ । बाह्य व्ययभारअन्तर्गत महानगरभित्र सञ्चालित जग्गा एकीकरण आयोजनाबाट जग्गा बिक्री भएर आएको रकम हो । 

महानगरले पूर्वाधार विकासतर्फ कुल बजेटको ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ प्रस्ताव गरेको छ । सामाजिक विकासमा बजेटको २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार, आर्थिक विकासमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार प्रस्ताव गरिएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षमा महानगरले पूर्वाधार योजनाहरूलाई उच्च प्राथमिकतामा राखेको उपप्रमुख डंगोलले बताइन् । महानगरले फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उत्पादन कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्ने योजना बनाएको छ । त्यस्तै ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थापन, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्त्व बोकेका सम्पदास्थल संरक्षण र प्रवर्द्धनमा समेत बजेट व्यवस्थापन गरिएको छ ।

उपप्रमुख डंगोलले बजेट प्रस्तुत गर्नुअघि महानगर प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले सहकारी सुधार, सामुदायिक विद्यालयमा ‘स्पोर्टस् एकडेमी’, उद्यमशीलता क्लबलगायत कार्यक्रम सञ्चालन गरिने जनाए ।

यस्तै, महानगरले सबैलाई करको दायरामा ल्याउन पुस मसान्तसम्म कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने भएको छ । उपप्रमुख डंगोलले काठमाडौंलाई सफा, हरियाली, सांस्कृतिक र जीवन्त सहरका रूपमा विकास गर्ने उद्देश्य साकार पार्न अपिल गरिन् ।

यस्तै, काठमाडौं महानगरले चालु आर्थिक वर्षको असार २५ सम्म कुल बजेटको ५२.१३ प्रतिशत मात्र खर्च गरेको छ । २४ अर्ब ९० करोड ६३ लाख बजेटमध्ये उक्त अवधिसम्म १३ अर्ब ३ करोड ७४ लाख मात्र खर्च भएको छ । पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख विनियोजन गरिएकामा ६ अर्ब ७३ करोड ७४ लाख मात्र खर्च भएको छ । जुन ४४.७२ प्रतिशत हुन आउँछ । 

चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा ६ अर्ब २२ करोड ९९ लाख खर्च भएको छ । जुन कुल बजेटको ६३.४२ प्रतिशत हो । राजस्वतर्फ चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख लक्ष्य निर्धारण गरिएकामा १० अर्ब ९ करोड ८५ लाख मात्र संकलन भएको छ ।

काठमाडौंका स्थानीय बुद्धिजीवी इन्द्रलाल सिंहले स्वतन्त्र र दलबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू मिलेर समग्र महानगरको हितमा लाग्नुपर्ने बताए । ‘जनशक्ति, अर्थ र परियोजनाको व्यवस्थापन सबै मिलेर गर्नुपर्छ,’ उनले भने, ‘लक्ष्यअनुरूप बजेट खर्च हुन नसक्नुको विभिन्न कारणमध्ये यी तीन मुख्य हुन् ।’ 

काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरले एक पटक टेन्डर फेल भएमा अर्को खोल्न महिनौं लाग्ने भएकाले बजेट खर्च हुन नसकेको बताए । ‘फोहोरमैला व्यवस्थापन गर्न केन्द्रीय सरकारले चासो नदिँदा समस्या भएको हो,’ उनले भने । 

प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीच पुरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतको विषयलाई लिएर विवाद हुँदा गत पुस ८ गतेदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । जसका कारण महानगरको बजेट आउन ढिलाइ भएको हो ।

प्रशान्त माली

Link copied successfully