५ वर्ष स्थिर सरकार पायौँ भने मुलुकलाई रूपान्तरण गर्न सक्छौँ : अध्यक्ष दाहाल

असार ३०, २०८२

कान्तिपुर संवाददाता

If we get a stable government for 5 years, we can transform the country: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तनहरू गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत आफूसँग मात्रै रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै दाहालले गणतन्त्र, संविधान निर्माणदेखि ऊर्जा क्षेत्रमा हासिल उपलब्धिसम्मका विषयमा माओवादी नेतृत्वको योगदान स्मरण गराइरहेछ । 

'हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ। जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं,' उनले भने । 

अध्यक्ष दाहालले संविधान कार्यान्वयनको एक दशक नपुगेको र अझै आवश्यक कानुनहरू बन्न नसकेको अवस्था औंल्याउँदै संविधान संशोधनको विषयलाई गम्भीर बहसको रूपमा अघि सारेका छन् । 'संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ,' उनले भने । 

संविधानको शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाई बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, 'यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु।'

अध्यक्ष दाहालले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट आएको दाबी गर्दै भने, 'यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो।' सत्तापक्षलाई जनताको धैर्यको सीमा नाघ्न नदिन सचेत गराउँदै दाहालले चेतावनी दिए, 'तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ। यो बन्द हुनु पर्दछ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ।'

मध्यपहाडी लोकमार्गको परिकल्पना, हुलाकी राजमार्ग, उत्तर-दक्षिण करिडोर, विशेष आर्थिक क्षेत्रको घोषणा, लोडसेडिङको अन्त्यलगायतका ऐतिहासिक निर्णयहरू माओवादी नेतृत्वमै भएको अध्यक्ष दाहालको भनाइ छ । 'गठबन्धनमा रहेर, सीमित अवसर पाउँदा पनि हामीले मानक बनायौं । पाँच वर्ष स्थिर सरकार पायौं भने मुलुकलाई रूपान्तरण गर्न सक्छौं,' उनले भने । आर्थिक संकटको समाधानमा पछिल्लो कार्यकालमा देखिएको सुधार पनि माओवादी नेतृत्वको परिणाम भएको उनको दाबी थियो ।

कान्तिपुर

Link copied successfully