सरकारलाई दाहालको प्रश्न : मल र बिजुली कहाँ गयो ? 

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Dahal's question to the government: Where did the fertilizer and electricity go?

काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै दाहालले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै सरकारले मलखाद उपलब्ध नगराएको बताएका हुन् । 

'मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो। तर, असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन,' अध्यक्ष दाहालको भनाइ थियो। हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै गर्न नसकेको तथ्य सार्वजनिक गर्दै प्रश्न गरे, 'आयात भएको भनिएको मल कहाँ गयो ? '

दाहालले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने गरेको पक्षपात अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे । उनले उखु किसानको बक्यौता त अझै नदिएको, अनुदान समेत आधा घटाइएको विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिए । तराई–मधेशका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै उनले भने, 'धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ।'

किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुरु गर्न, सिँचाइको उचित व्यवस्था मिलाउन र तत्काल राहत उपलब्ध गराउन दाहालले सरकारको ध्यानाकर्षण गराएका छन् । 

कान्तिपुर

Link copied successfully