२ सय क्षमताको कारागारमा ६७४ कैदीबन्दी

कैलाली कारागारको हालको पुरानो संरचनाको ठाउँमा नयाँ आधुनिक भौतिक पूर्वाधार निर्माण गर्ने तयारी

असार ३०, २०८२

चित्रांग थापा

674 prisoners in 200 capacity prison

कैलाली — धनगढीस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । २ सय जना क्षमताको कारागारमा हाल ६ सय ७४ कैदीबन्दी रहेको कैलाली कारागारका जेलर बोधबहादुर खत्रीले बताए । कारागारमा ५७ महिला कैदीबन्दी छन् ।

१९९७ सालमा स्थालमा स्थापना भएको यो कारागार जीर्ण भइसकेको छ । कारागारको क्षमताभन्दा तीन/चार गुणा बढी कैदीबन्दी बर्सेनि थपिने गरेका छन् । कारागारमा कर्तव्य ज्यान, ज्यानसम्बन्धी कसुर, अपहरण र जबर्जस्ती करणी लगायतका गम्भीर प्रकृतिका मुद्दामा सजाय पाएका कैदीदेखि मुद्दा फैसला नभई पुर्पक्षका बन्दीहरू छन् । 

कारागार स्रोतका अनुसार हालका वर्षमा लागूऔषध ओसारपसार, सेवन तथा कारोबार गर्ने अपराधमा संलग्न भएकाहरूको संख्या बढ्दो छ । ‘हाल कारागारमा रहेका कैदीबन्दीमध्ये ५० प्रतिशत लागूऔषधसम्बन्धी अपराधमा पक्राउ परेका छन्,’ कारागारका एक कर्मचारीले भने ।

कारागारको बन्दीगृहभित्र महिलाका लागि २ वटा बेग्लै कोठा छन् । पुरुष कैदीबन्दीका लागि बेग्लै कोठा र हल छ । प्रायः सबै भुइँमै सुत्ने गरेका छन् । ४ बिघा क्षेत्रफलमा फैलिएको कारागार परिसर धनगढी बजार क्षेत्रको होचो स्थानमा छ । 

जसका कारण वर्षायाममा कारागार आसपासको क्षेत्र जलमग्न हुने गरेको छ । सोमबार कारागारको भित्रसम्म पानी पसेको थियो । ‘तर पूरै डुबानमा परेर बस्नै नसक्ने अवस्था भने छैन, कारागार जीर्ण अवस्थामा पुरानो भए पनि नियमित मर्मत सम्भार हुँदै आएको छ,’ जेलर खत्रीले बताए ।

जेलर खत्रीका अनुसार कैलाली कारागारको हालको पुरानो संरचनाको ठाउँमा नयाँ आधुनिक भौतिक पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको छ । ‘नयाँ भौतिक पूर्वाधारका लागि ५४ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी कारागार विभागमा पठाइएको छ,’ जेलर खत्रीले भने, ‘नयाँ कारागार कहिले बन्छ, त्यो त थाहा भएन तर प्रक्रिया भने सुरु भएको छ ।’

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully