आज देश दुनियाँमा के-के भयो ? 

असार २९, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — छाउगोठमा सुतेकी महिलालाई सर्पले डस्दा मृत्यु,  सरुवा र नियुक्तिका विषयमा मन्त्रीको अडियो काण्डबारे छानबिन गर्न विपक्षी दलको माग, पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाहरूको हालत पनि उस्तै रहेको सांसद केसीको भनाइ, पर्खाल नै नलगाएको अलपत्र भवनमा प्लाईउडले बारेर पठनपाठनदेखि स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्नेसम्मका खबर आज चर्चामा रहे । 

०००००

महिनावारी भएका बेला छाउगोठमा रहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको मृत्यु भएको हो ।  

०००००

रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरुले उठाउँदै आएको विषय स्पेनको सेभिल घटनाले पुष्टि गरेको बताएकी छन् । ‘सबैभन्दा दुस्खको कुरा सदनमा आन्दोलन हुँदै गरेका बेला पनि बिचौलियालाई डर न संकोच । कसको अकर्मण्यताले मानव तस्करहरुमा यस्तो आँट पलाएको हो ?’ आजको प्रतिनिधिसभा बैठकमा उनले भनिन् । कोभिडपछि दुबई गएका नेपाली भिजिट भिसामा बिचल्ली परेपछि गठित कार्यदल र अहिलेको कार्यदलमा केही फरक नरहेको उनको भनाइ थियो ।  

०००००

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । सत्ता र सरकारमै रहेकाहरूको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उनको भनाइ छ । 

०००००

जिल्लाको दार्मा गाउँपालिका-२ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयले यही शैक्षिक सत्रदेखि निर्माणका क्रममा ढलान मात्र गरी त्यत्तिकै छाडेको भवनमा दुई तिरबाट प्लाईउडले बारेर बनाएको अव्यवस्थित कोठामा पठनपाठन सुरु गरेको छ । विद्यालयको भवन हुँदाहुदै पनि वडाका सबै बस्तीका स्थानीयलाई पायक पर्ने भन्दै प्रदेश सरकारको ७० लाख बजेटमा निर्माण गर्न थालिएको र बजेट थप नगर्दा अलपत्र परेको भवन प्लाईउडले बारेको कोठामा विद्यालयले पठनपाठन सुरु गरेको हो ।  

०००००

एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ । मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रुपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully